
बाजुरा—कर्णाली नदीमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उक्त शव हुम्लाकी युवतीकाे रहेको खुलेको हो ।
बुधवार बिहान हिमाली गाउँपालिका ६ झुगाला स्थित कर्णाली नदीमा बेवारिसे अवस्थामा ती महिलाको शव फेला परेको थियो । कर्णाली नदी किनारमा दुई ढुंगावीच सडेगलेको अवस्थामा फेला परेको शव दिउँसो प्रहरीले कोल्टी अस्पतालमा ल्याएको थियो । शव फेला परेको खबर पछि कोल्टी अस्पतालमा हुम्लाबाट मृतक युवतीका बुवासहित आफन्तहरु समेत पुगेका थिए । उनीहरुले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा सनाखत गरेका छन् ।
उक्त शव हुम्लाको चंखेली गाउँपालिका ४ माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीय कर्मा बोहराको रहेको खुलेको छ । मृतक युवतीका बुवा हर्क बोहराका अनुसार छोरीसहित एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा समेत थिए । यहीँ असोज ११ गते बिहान दुवै जनाले कर्णाली नदीमा हाम फालेको खबर पाए । सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग छोरी भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको उनले बताए । त्यस लगत्तै सबैतिर खोजखबर गरे तर कतै भेटाएनन् । अहिले १२ दिनपछि बाजुरामा शव भेटियो भन्ने खबरपछि कोल्टीमा पुगेको उनले बताए । कर्मासँगै हाम फालेका युवक भने हालसम्म कतै नभेटिएको पारिवारीक स्रोतले बताएको छ ।
सामाजिक तथा मानसिक पीडाले ती प्रेमजोडीले कर्णाली नदीमा हाम फालेर सदाका लागि संसार छाडेपछि गाउँ शोकमा डुबेको छ । मृतक युवतीको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
याे पनि हेर्नुहाेस् ।
