शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • तीन महिनापछि खुल्यो मार्तडी—कोल्टी सडकखण्ड

तीन महिनापछि खुल्यो मार्तडी—कोल्टी सडकखण्ड

  • शनिबार, अशोज ११, २०८२
तीन महिनापछि खुल्यो मार्तडी—कोल्टी सडकखण्ड

बाजुरा—तीन महिनादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडकखण्ड सुचारु भएको छ । बर्षातमा विभिन्न ठाउँमा पहिरो तथा खोलाका कारण अवरुद्ध सडकखण्ड पुनः सञ्चालन गरिएको हो ।

सडकखण्डका पहिरो पन्छाएर बाउली र अनाई खोलामा बाटो मर्मत गरेसँगै शनिवारदेखि नियमित सुचारु भएको यातायात व्यवसायीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय, बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको सहकार्यमा सडकखण्ड खोलेर सुचारु गरिएको बताएका छन । उनले हाल बुढीनन्दाको डोजर प्रयोग गरेर सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरो हटाएपछि सडकखण्ड पुनः सञ्चालन भएको बताए ।

मार्तडीदेखि कोल्टीसम्म अब सिधा जीप सञ्चालन हुने भएपछि यात्रुहरुका लागि सहज हुने भएको छ । दशैं र तिहारका लागि घर फर्किनेहरुलाई थप सहजता भएको स्थानीयहरुले बताएका छन् । अहिले दसैँ–तिहार लागयतका चाडपर्व सुरु भएसँगै देशकाब विभिन्न सहर तथा रोजगारीका लागि भारत गएका नागरिकहरु धमाधम गाउँ फर्कन थालेका छन् । जिल्लाको पुर्वीउत्तरी भेग कोल्टी क्षेत्रका चार वटा स्थानीय तहसँगै छिमेकी हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुले पनि यहीँ बाटो भएर यात्रा गर्ने गरेका छन् ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले पानी रोकिएसँगै पहिरो हटाउनुका साथै बाउली खोलामा बाटो बनाएपछि नियमित सडकखण्ड सुचारु गरिएको बताए ।

सदरमुकामबाट जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने सडकखण्ड यस अघि असार दोस्रो सातामा बर्षातले अवरुद्ध भएको थियो । सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएर यातायात सेवा अवरोध हुदैँ आएको थियो ।

तीन महिनासम्म मार्तडी कोल्टी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएपछि यातायातसँगै सामान ढुवानी तथा पाण्डुसैन क्षेत्रमा पाकेको स्याउ बारीमै थन्किएको थियो । तर अब बाटो नियमित सुचारु भएपछि सहज रुपमा मार्तडी लागयतका बजारहरुमा बिक्रीका लागि ढुवानीमा समेत सहजता हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार