
बाजुरा—जिल्ला प्रहरी कार्यालय बाजुराले सौहार्दपूर्ण वातावरणमा सभ्य र भव्य तरिकाले चाडपर्व मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावाली तथा छठ पर्वको शुभकामना सन्देश दिँदै प्रहरीले कुनै तडक भडक नगरी मौलिक रुपले चाडपर्व मनाउन आग्रह गरेको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले चाडपर्वमा विभिन्न किसिमका अपाधिक घटनाहरु हुन सक्ने भन्दै विशेष सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । चाडपर्वमा पूजा आजामा बालिने बत्ती र आगोको अन्य प्रयोग गर्दा आगलागी हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । चाडपर्व मनाउने बहानामा मादक पदार्थ तथा नशालु पदार्थ सेवन नगर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीले सार्वजनिक स्थानमा अनावश्यक हो–हल्ला, भागदौड तथा अन्य उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध गरेका छन् । उनले चाडपर्वमा जुवातास जस्ता अपराधीक कार्य नगर्न, सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम गर्दा छिमेकीलाई असर नपर्ने गरी सभ्य र मर्यादित तरिकाले गर्न पनि आग्रह गरेका छन् । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोकेमा वा मादक पदार्थ सेवन गरी सवारी चलाएमा तत्काल प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरे । त्यस्तै उनले चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधिलाई ध्यानमा राखेर नियन्त्रण गर्न सोही अनुसार प्रहरी परिचालन गरिएको बताएका छन् । प्रहरी प्रमुख डिएसपी हवारीले रातको १० बजेपछि अनावश्यक हिँडडुल नगर्न, सामाजिक विघटन तथा गैर कानूनी गतिविधि नगर्न पनि सुझाव दिएका छन् ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयले जिल्लाबासीलाई कुनै पनि अपराधिक कार्य नगर्न अनुरोध गर्दै कोही कसैले गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्न पनि आग्रह गरेको छ ।
