शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • राजनीतिक भागबण्डा नमिल्दा समितिविहीन बने सुदूरका अस्पताल

राजनीतिक भागबण्डा नमिल्दा समितिविहीन बने सुदूरका अस्पताल

  • सोमवार, भदौ १६, २०८२
राजनीतिक भागबण्डा नमिल्दा समितिविहीन बने सुदूरका अस्पताल

बाजुरा—सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरु व्यवस्थापन समितिविहीन बनेका छन् । प्रदेशका ९ वटै जिल्लाका अस्पताल तथा प्रादेशिक अस्पतालहरु लामो समयदेखि व्यवस्थापन समितिविहीन बनेका हुन् ।

९ वटै जिल्लाका अस्पताल तथा प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका पदाधिकारीहरुको कार्यकाल सकिएको ६ महिना बितिसकेको छ । यसअघि २०७८ मा तीन बर्षका लागि व्यवस्थापन समितिमा राजनीतिक नियुक्ती पाएका पदाधिकारीको कार्यकाल सकिएपछि ती पदहरु अहिले रिक्त छन् ।

२०८१ चैत्र महिनादेखि जिल्ला अस्पताल बाजुरा सहित ९ वटा जिल्ला अस्पताल तथा प्रादेशिक अस्पताल समितिविहीन अवस्थामा छन् । यसअघि बाजुरा जिल्ला अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्कीले नियुक्ती पाएका थिए । कार्यकाल सकिएको ६ महिना बितिसक्दा पनि नयाँ नियुक्तीमा ढिलाई हुँदा अस्पतालको सेवा सुविधामा गुणस्तर, निरीक्षण, नीतिगत निर्णय तथा व्यवस्थापनमा समस्या भएको जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको कार्यकाल सकिएको लामो समय बितिसक्दा पनि हालसम्म नयाँ समिति चयनको कुनै टुंगो लाग्न सकेको छैन् । जिल्ला अस्पतालको व्यवस्थापन समिति अध्यक्षलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नियुक्त गर्ने व्यवस्था रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका सत्तारुढ दल कांग्रेस—एमालेबिच भागबण्डामा सहमति नहुँदा नियुक्ती प्रक्रिया रोकिएको जनाएको छ । प्रदेशका प्रादेशिक तथा जिल्ला अस्पतालको व्यवस्थापन समिति अध्यक्ष नियुक्ती गर्ने सहमति भएपनि राजनीतिक भागबण्डा मिल्न नसकेको बताइएको छ ।

यस बिषयमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी जयदेव महराले अस्पताल व्यवस्थापन समिति चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बडीमालिका खबरलाई बताएका छन् । जिल्ला अस्पतालका समितिको कार्यकाल कसैको अघि कसैको पछि सकिएकाले सबै अस्पतालको सँगै गर्ने भन्दै रोकिएको उनले बताए । त्यस्तै, हाल सबै अस्पतालका व्यवस्थापन समितिका पदाधिकारीहरुको कार्यकाल सकिएको भन्दै अब दसैं–तिहार लगत्तै समिति चयन हुने सूचना अधिकारी महराको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार