
धनगढी— सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराकाे बडीमालिका क्षेत्रसम्मको आवगमनलाई सहज बनाउन विभागीय मन्त्रालयलाई निर्देशन दिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती समिक्षा गोष्ठीको समुउद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले साे कुरा बताएका हुन् ।
त्यस्तै उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकिय क्षेत्र बडीमालिकासम्मको आवागमनलाई सहज बनाउन आवश्यक रहेकाे बताए । मुख्यमन्त्री शाहले बडिमालिका दर्शन गर्न गएकामध्ये दुई जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै यसैवर्ष भित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा प्राविधिक टोली खटाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिए।
बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेको बताए।
