
बाजुरा–जनैपूणिमाको दिन अर्थात आज बाजुराको नाटेश्वरी मन्दिरमा पुजा भइरहेको छ । तिर्थयात्री बडिमालिका दर्शन बाट फर्केर नाटेश्वरीमा भव्य पुजा लाग्ने गर्छ । शनिवार बिहानै देखी पुजाआजा शुरु भइरहेको छ ।
नाटेश्वरी मन्दिर बाजुराको त्रिवेणी नगरपालिका– ७ मा पर्छ किंवदन्ती अनुसार महादेवकी पत्नी सतीदेवीको बायाँ कुम प्रसिद्र धार्मिक स्थल बडिमालिकामा पतन भएको मानिन्छ । बडिमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ ।
नाटेश्वरीलाई ‘नाचनथली’ पनि भन्ने गरिन्छ । भगवान शिव, पार्वती लगायत अन्य देवीदेवताको नाचगान गर्ने स्थल भएका कारण र नाटेश्वरी नामकरण भएको भनाइ छ ।
२०३४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले हेलिकोप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गरेका थिए । पछि २०५६ सालमा योगी नरहरिनाथले कोटी होम लगाएपछि मन्दिरको थप प्रचार भएको थियो। योगी नरहरीनाथले एक महिना नाटेश्वरी बस्दा नाटेश्वरीको इतिहास, धर्म, संस्कृति र यहाँका जडीबुटीको महत्त्वका बारेमा बयान गरेका थिए। २०८१ कार्तिक १ रामचन्द्र पौडेलले नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको उद्भघाटन गरेपछि थप चर्चा तथा प्रचारप्रसार भएको हो ।
नाटेश्वरीमा भगवती देवीबाहेक कालिकादेवी र धल्पुरादेवीको पनि मन्दिर छ । यी तीनवटै मन्दिरमा फरक–फरक समयमा पूजाआजा गरिन्छ। भगवती देवीको पूजा गर्नेले बलि चढाउँदैनन् । कालिका देवीमा भने बलि चढाइन्छ। नाटेश्वरीमा वर्षको तीनपटक पूजाआजा तथा मेला लाग्छ । जनैपूर्णिमा, चैते अष्टमी र बडादसैँमा मेला लाग्छ। जेठको दशहरामा सुदूरपश्चिमको दिपायलबाट जर्नेल आएर पूजा गर्ने परम्परा छ। बडिमालिका दर्शन गरेर फर्किएपछि नाटेश्वरीमा पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
नाटेश्वरीको दर्शन गर्न आउने दर्शनार्थी एवं पर्यटकहरूले यहाँका केही पुराना गुफा पनि अवलोकन गर्न सक्छन्। यहाँ १ सय १ किलोको त्रिशूल राखिएको छ ।
नाटेश्वरीबाट बडिमालिका आँखैअगाडि नियाल्न सकिन्छ। बाजुराको व्यापारिक केन्द्र बाम्का बजार, मौरे धाम हुँदै नाटेश्वरी पुग्न सकिन्छ । बाम्का बजारसम्म सार्वजनिक सवारीसाधन चल्छ । निजी सवारीसाधनमा सालडाँडा हुँदै पनि नाटेश्वरी पुग्न सकिन्छ ।
