
बाजुरा– बुढीनन्दा’ बाजुराको ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको प्रसिद्ध तीर्थस्थल अर्थात् धार्मिक क्षेत्र हो । बुढीनन्दा हिमशिखरमा वरदायनी बुदीनन्दा देवी विराजमान छन् । सेती र कर्णाली क्षेत्रमा यी देवीलाई सत्यदेवीका रूपमा मान्छन् ।


यो क्षेत्र बाजुराको बुढीनन्दा नगरपालिका अर्थात् समुद्र सतहबाट चार हजार ८ सय ८८ मिटर उचाइमा रहेको छ । यसको पूर्वमा रुगिन, पश्चिममा दहकोट र बझाङको भूभाग, सैपाल हिमालको दक्षिणी हिमशृङ्खला, उत्तरमा फुलैगुम्बा, सैनपाटन र दक्षिणमा कोल्टी कुरुगाड, बड्डाला, तलिगोठीलगायतका गाउँबस्ती पर्छन् । यसको वरिपरि दैवीय न्यायालयको प्रतीकका रूपमा रहेका तलिगोठी कैलाश देवता, खापर जगन्नाथ, चन्दननाथ, दत्तात्रय, खोचरनाथ, स्वामीकार्तिक, पादुका, कर्णाली नदी, रारा ताल रहेका छन् ।


यो क्षेत्र बुढीनन्दा देवीको निवासका साथै प्रकृतिको उपहारस्वरूप तेजार ताल, लङ्कारी तालले फूलको थुँगा झैँ सिँगारिएको छ । लङ्कारी तालबाट उद्गम सुनालिस्नी र रूपालिस्नी झरनाले बुढीनन्दालाई पहरा दिइरहेका छन् । खोज र अनुसन्धान नभए पनि यस क्षेत्रमा रहेका पचाल ताल विश्वमा नै अग्लो हुन सक्ने सम्भावना रहेको छ । बुढीनन्दामा हरेक वर्ष भक्तजन श्रावण शुक्ल चतुर्दशीका दिन यहाँ पुगी पूजाअर्चना गर्ने गर्छन् ।






