
बाजुरा– बाजुराको त्रिवेणाी नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ । आइतवार नगरपालिकाले एक सूचना जारी गर्दै यहीँ साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार आगामी ३ दिन सार्वजनिक बिदा दिएको जनाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाहले पालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मेलाको अवसरमा सार्वजनिक बिदा दिएको बताए । उनले मेलाको अवसरमा यहीँ साउन २१ गतेदेखि २३ गतेसम्म ३ दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार सार्वजनिक बिदाका दिनसम्म नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय बन्द हुने छन् ।
त्यस्तै धार्मिक आस्थाको धरोहर बडीमालिका मेला नजिकिएसँगै दर्शनका लागि तीर्थालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ । देशका विभिन्न स्थानबाट बडीमालिका माताको दर्शनका लागि श्रद्र्धालु भक्तजनहरु त्याँहा पुग्ने गर्छन । जिल्लाको बुढीनन्दा र बडीमालिकामा यहीँ साउन २३ गते अर्थात शुक्ल चतुर्दर्शीका दिन पूजा तथा मेला लाग्दैछ ।

