शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नागपञ्चमीमा जुम्लाको सरकारी टोलीको बडिमालिका भगवती पूजा यात्रा

नागपञ्चमीमा जुम्लाको सरकारी टोलीको बडिमालिका भगवती पूजा यात्रा

  • मङ्लबार, साउन १४, २०८२
नागपञ्चमीमा जुम्लाको सरकारी टोलीको बडिमालिका भगवती पूजा यात्रा

जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ। सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली मंगलबार प्रस्थान गरेको हो। नागपञ्चमीको दिन तीर्थालु सहित सरकारी टोली दिउँसो साढे १ बजे बडिमालिका भगवती मन्दिर दर्शनका लागि गएको हो।

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय प्रमुखहरू लगायत सर्वसाधारणले फूलमाला, अबिरसहित पञ्चेबाजाले बिदाइ गरेका थिए। बडिमालिका भगवतीको मन्दिरतर्फ प्रस्थान गर्ने टोलीलाई दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तीर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ।

त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पूजा गर्नका लागि जाने गर्दछ। बडिमालिका भगवतीको मन्दिरतर्फ प्रस्थान गर्ने टोलीलाई नेपाली सेनाले सलामी दिएर सदरमुकाम खलंगाबाट बिदाइ गरेको थियो। परम्परादेखि नै बडिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले ब्यान्डबाजा र बिगुल फुकेर पठाउने चलन रहेको बुढापाकाले बताउँछन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा मंगलबार प्रस्थान गरेको टोली १७ दिनपछि मात्र जुम्ला सदरमुकाम आइपुग्ने गर्दछ। जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको कांगियो, छत्र, मुरली गरी ५ वटा पूजाका सामान पेटारो झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ। त्यस्तै भक्तजनले आफ्नो बरपुर्तिका लागि भेटी, मार्सीधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा तोरणजस्ता प्रसाद पठाएका छन्।

जिल्लाबाट गएको टोलीसँगै गाउँगाउँबाट अन्य धर्मालम्बी थपिँदै जाने गर्दछन्। हरेक वर्ष साउन शुक्लपूर्णिमा नागपञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन छ। डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन रहेको छ।

चर्चामा

सम्बन्धित समाचार