
बाजुरा—आगलागीबाट ध्वस्त भएको बाजुराको मुख्य व्यापारिक केन्द्र बाम्का बजारको पुनर्निर्माण सम्पन्न भएको छ । ०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलागीबाट ध्वस्त भएको बजारको करिब दुई महिना पछि पुनर्निर्माण सम्पन्न भएको हो ।
भीषण आगलागीबाट खरानी बनेको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का सरकारी तथा गैरसरकारी निकाय तथा विभिन्न व्यक्तिहरुको सहयोग पछि पुनर्निर्माण भएर पुरानै स्वरुपमा देखिएको छ ।

सुरुमा पुुनःनिर्माण कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका पीडितहरु राहत पाएपछि खुसी भएपनि अब फेरी कसरी सामान जुटाउने भन्ने चिन्तामा छन् । आगलागी पीडित व्यावसायीहरुले जेनतेन गरेर टिनका टहरा उठाए पनि टहरा खाली छन् । घर जग्गा र सम्पत्ति नै धितो राखेर बनाएका पसल र सुरु गरेको व्यापार व्यवसाय खरानी भएपछि आफ्नो प्राण बाहेक उनीहरू खाली बनेका थिए ।

२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त आगलागीबाट करिब एक दर्जन बढी पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने केहीमा आंशिक क्षति भएका थियो । ती सबै अहिले बजारको पुरानै संरचनाको स्वरुपमा देखिएका छन् ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगंगा र त्रिवेणी नगरपनलिकाले बाम्का बजार पुनर्निर्माण तथा व्यवस्थापन समिति बनाएर विभिन्न निकाय तथा सहयोगीदाताहरुबाट प्राप्त राहतबाट बजार पुनर्निर्माण भएको बताएका छन् ।
उनले आगलागीबाट पीडितहरुलाई विभिन्न चरणमा नगद सहित राहत सामग्री वितरण गरेर उनीहरु आफैँले पुनर्निर्माण गरेको बताए । आगलागीबाट पूर्ण क्षति भएका १३ र आंशिक ९ वटा गरी २२ वटा पसल पुननिर्माण गरिएको नगर प्रमुख बानियाँले बताएका छन् ।
एक करोड १० लाख राहत ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि करिब एक करोड १० लाख रुपैयाँ राहत संकलन भएको छ । बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म नगद र जिन्सी गरी एक करोड १० लाख राहत संकलन भएको हो ।
त्यसैगरी, राहत संकलन तथा व्यवस्थापन समिति संयोजक एवम् नगर प्रमुख राम बहादुर बानियाँले समितिको बैंक खाताबाट ७४ लाख रुपैयाँ कारोबार भएको र बाँकी व्यवसायी, उद्योग वाणिज्य संघ लगायत विभिन्न निकायबाट राहत सहयोग भएको बताए । उनले करिब ९५ लाख बढी नगद रकम र बाँकी जिन्सी सामग्री सहयोग भएको बताए ।
त्यस्तै, पीडितहरुलाई विभिन्न व्यक्ति तथा निकायबाट नगद र समितिमा प्राप्त रकम मध्ये पहिलो चरणमा पूर्ण क्षतिलाई ३ लाख र आंशिकलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको बुढीगंगा ६ का वडा अध्यक्ष हेमराज जैशीले बताए । त्यस्तै पूर्ण क्षति भएकालाई एक लाख ८० हजार र आंशिकलाई ३० हजार रुपैयाँ दोस्रो पटक वितरण गरिएको उनले बताए । त्यस्तै वडा अध्यक्ष जैशीले पीडितका लागि राहत भएको सहयोगको सम्पूर्ण राहत वितरण तथा हिसाब किताब र सबैको सहभागीतामा प्रतिवेदन सहित सार्वजनिक गरिएको बताए ।
उक्त आगलागीबाट पीडितका लागि यसअघि सुदूरपश्चिम प्रदेश सरकारले केही राहत सामग्री सहित ४० लाख आर्थिक सहयोग गरेको छ । त्यस्तै पीडितलाई जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, विभिन्न व्यक्ति तथा गैरसरकारी संघ संस्थाबाट समेत आर्थिक सहयोग भएको छ ।
साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा जिल्लाका अन्य बजार भन्दा बढी चहलपहल हुने गर्छ । सडक सञ्जालको पहुँच पुगेपछि २०६२ सालमा स–सानो पसलबाट किनबेच सुरु भएर हाल मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित भएको बाम्कामा हाल करिब २ सयको हाराहारीमा पसलहरु छन् ।






