
बाजुरा —नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले गाली गरेका भरमा पद पाइँदैन कि भन्ने डरले सत्य छोड्न नसकिने बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीभित्र गुटबन्दी त्यागेर एकताबद्ध भएर एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अभियानमा लाग्न आह्वान गरेका छन्।
नेता थापाले नेतृत्वप्रति असन्त्ष्टी पाेख्दै कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको भन्दै व्यक्तिसँग न आग्रह न पूर्वाग्रह भएकाेले याे लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ भएकाे समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘सृजनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टकटक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने सङ्कीर्णताले पार्टी जीवनलाई अस्वस्थ्य बनाउने भएकाले त्यस्ता तरिकाहरूलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।’ त्यस्तै उनले केपी ओलीको जबज र पार्टी जीवनको लोकतान्त्रीकरण पुस्तक पढ्न पार्टी पङ्क्तिलाई आह्वान गरेका पनि छन्।
एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई निषेध गर्ने निर्णयको विपक्षमा उभिएका थापाले कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरण चुनौती बन्दै गइरहेको बताएका छन्।
उनले पुस्तकको कभर राख्दै लेखेका छन्, ‘यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रित होइन, नेपाली विशेषताको समाजवाद बारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन् । गाली गरेका भरमा, पद पाइँदैन कि भन्ने डरले सत्य छोड्न त सकिँदैन है ।’
उनका तीन स्टाटस जस्ताको त्यस्तै
पहिलो-
म विचारको निरन्तरतामा छु । कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको हो । लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो । व्यक्ति सँग न आग्रह न पूर्वाग्रह ।
दशौँ राष्ट्रिय महाधिवेशन पछि हालसम्मको यस अवधिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढी गुटबन्दीमा पार्टी अल्झिएको छ । विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरू थिए जसका कारण फरक फरक बुझाइहरू रहने गर्दथे । यस अवधिमा मूल नेतृत्व र पार्टी नीतिमा कहीँ पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिँदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ ।
पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ । केही सीमित मानिसहरू पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरूलाई दोस्रो दर्जाको सदस्यको रूपमा व्यवहार गर्ने गलत प्रबृत्ति हाबी भएको छ । विश्व कम्युनिस्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरू बसेर गरेको सल्लाह र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलीय जनवादले सच्यायो ।
पार्टी जीवनको आन्तरिक लोकतान्त्रीकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्त्वपूर्ण उपलब्धि नेपालको कम्युनिस्ट आन्दोलनले प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा चुकिरहेका छौ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।
दोस्रो-
कसले कसलाई छोड्यो र कसले के छोड्यो ? मुल्याडकन आफै गर्नु होला । म त यही मान्यताको पक्षमा उभिरहेको छु । जो कमरेड केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रीकरण गर्न भनी उठाउनु भएको थियो र पार्टीले स्वीकार गरी दुई कार्यकाल र ७० वर्षको उमेर हद लगाएको हो । महाधिवेशनसम्मै यी मुद्दामा स्वास्थ्य छलफल गरौँ ।
कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याको रूपमा देखा परेको छ । पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आवश्यक प्रबन्ध नहुनु आदी कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोवैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेकौँ वाञ्छित अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैद्य अवैध उपायहरू अवलम्बन गर्ने स्थिति देखा परेको छ ।
यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा पुर्याएको छैन, नेतृत्व परिवर्तनको लागि अस्वस्थ्य होडबाजी, गुटबन्दी र षडयन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ । यसले आजको तीव्र प्रतिस्पर्धाको समयमा युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको छ । परिस्थितिले यस समस्याको समाधानको लागि ठोस र मूर्त प्रबन्धको माग गरिरहेको छ ।
पार्टी जीवनको लोकतान्त्रीकरण कुनै पदको भागबन्डा या अधिवेशनको बेला हुने निर्वाचनको प्रश्न मात्रै होइन । यसको सार हो, पार्टीमा आम सदस्यहरूको सार्वभौमिकताको स्थापना, नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको स्वामित्वको प्रत्याभूति, कार्यकर्ताको स्वेच्छिक चयनको आधारमा नेतृत्व निर्माण र उपयुक्त विधिद्वारा जिम्मेवारी वितरणसहित सामूहिक नेतृत्वको स्थापना, पार्टीभित्र वैचारिक राजनीतिक बहसको जीवन्त उपस्थिति, विचारकै आधारमा विभेद नहुने कुराको ग्यारेन्टी, माथिल्लो कमिटी र नेतृत्वको कामको निश्चित विधिद्वारा जबाफदेहिताको सुनिश्चितता, नेतृत्व युवा पुस्तामा क्रमशः हस्तान्तरणका लागि मुख्य पदहरूमा दुई कार्यकालको सीमा निर्धारण, आदि ।
अर्थात् सारमा पार्टी लोकतान्त्रीकरण पार्टी जीवनमा नयाँ रक्त सञ्चार गर्ने विधि हो । पार्टी नेतृत्वमा पुगेपछि सिङ्गो पार्टी नभनेर संस्थापन भन्ने र आफ्ना अर्धसमर्थक र पक्षहरूको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशील र सृजनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टकटक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने सङ्कीर्णताले पार्टी जीवनलाई अस्वस्थ्य बनाउने भएकाले त्यस्ता तरिकाहरूलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।
तेस्रो-
यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रित होइन, नेपाली विशेषताको समाजवादबारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन् । गाली गरेका भरमा, पद पाइँदैन कि भन्ने डरले सत्य छोड्न त सकिँदैन है ।
