शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष खरेल पदमुक्त

युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष खरेल पदमुक्त

  • शनिबार, साउन ११, २०८२
युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष खरेल पदमुक्त

दाङ— राष्ट्रिय युवा संघले लुम्बिनी अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनुपर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

खरेलले भने आफूमाथि पूर्वाग्रही तरीकाले स्पष्टिकरण सोधिएको भन्दै भौतिकरूपमा उपस्थित नभई लिखित स्पष्टिकरण दिएका थिए । उनले स्पष्टीकरणको जवाफमा आफूले कसैलाई अभद्र व्यवहार नगरेको दावी परेका थिए ।

उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एकवर्षका लागि पदमुक्त गरेको पत्र पठाएका छन् ।

उनले संगठनको बिधानको धारा ४१ तथा धारा ४२ (क) र (ख)को हवाला दिंदै संगठनका सबै जिम्मेवारीबाट पदमुक्तका साथै १ वर्षकालागि निलम्बन गरिएको उल्लेख गरेका छन् । निलम्बन पत्रमा साउन ९ गते पदाधिकारी बैठकले निलम्बन गरेको उल्लेख छ ।

तर,एक पदाधिकारीका अनुसार युवा संघको पदाधिकारी बैठक साउन ९ मा बसेकै छैन् । ‘म क्षितिज थेवेकै प्यानलबाट जितेको मान्छे हुँ ।’एक पदाधिकारीले भने’बैठक बसेको बारे मलाई जानकारी भएन । म काठमाडौंमै छु ।बैठक बसेको भए मलाई जानकारी हुने थियो । बैठक बसेको छैन् ।’ लुम्बिनी प्रदेश अध्यक्षलाई निलम्बन गरिनु गलत भएको उनको भनाइ छ ।

निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् ।

संगठनमा फरक मत राखेकै कारण हुँदै नभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताए । संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ । ‘मलाई गलत आरोप लगाएर निलम्बन गरिएको पत्र पठाइएको छ ।` उनले नेपाल प्रेससँग भने ´निलम्बन स्विकार्य हुँदैन । मैले संगठनका गतिविधि निरन्तर गर्छु ।’

चर्चामा

सम्बन्धित समाचार