
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न अनुदान स्वरुप आर्थिक सहयोग गरेको छ । मंगलवार पालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रममा आर्थिक रुपले विपन्न महिलाहरुलाई रकम सहयोग गरिएको हो ।
बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया कुवँर खड्काले आर्थिक रुपले विपन्न र लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरिएको बताइन् । उनले स्वरोजगारका लागि केही न केही व्यवसाय सञ्चालन गर्न सकुन भन्ने उदेश्यका साथ अनुदान स्वरुप नगद रकम सहयोग गरिएको बताइन् । नगर उपप्रमुख खड्काले १९ जना महिलाहरुलाई रकम सहयोग गरिएको बताएकी छन् । उनीहरुलाई अनुदान स्वरुप जनही नगद १६ हजारका दरले रकम हस्तान्तरण गरिएको उनले बताइन् ।

उक्त रकमले व्यवसाय सञ्चालन गर्न सानो भए पनि सहयोग पुग्ने नगर उपप्रमुख खड्काले विश्वास गरिन् । यस्तो सहयोगले महिलाहरुलाई व्यवसाय गर्न मद्धत गर्ने भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताएकी छन् ।

त्यस्तै नगरपालिकाले सीप विकास केन्द्र स्थापना गरेर पालिकाका आर्थिक रुपले विपन्न, एकल महिला सहित बेरोजगार युवाहरुलाई सीप सिकाई रहेको छ । निःशुल्क सीप सिकाएर व्यवसायीक बनाउँदै आत्मनिर्भर बनाउने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

