
पोखरा — पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।
कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ ।
उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङलगायतका संस्थामा कोरोनाको जाँच भइरहेका थिए र सामान्य खालका विरामीमा पनि कोरोना फाट्टफुट्ट देखिएको थियो,’ महानिर्देशक खड्काले भने ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो । अनलाइनखबर
