शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका धार्मिक शक्तिपीठमा लाग्ने पूजा मेलालाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय

बाजुराका धार्मिक शक्तिपीठमा लाग्ने पूजा मेलालाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय

यस्ता छन् जिसस बैठकका निर्णयहरु

  • आइतवार, साउन ५, २०८२
बाजुराका धार्मिक शक्तिपीठमा लाग्ने पूजा मेलालाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय

 बाजुरा—बाजुराका विभिन्न धार्मिक शक्तिपीठमा लाग्ने मेला तथा पूजालाई व्यवस्थित तथा शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । शनिवार बसेको जिल्ला समन्वय समिति बाजुराको बैठकले मेला तथा पूजालाई व्यवस्थापन गर्ने सहित विभिन्न निर्णय समेत गरेको हाे।

बडीमालिका, बुढीनन्दा लगायतका शक्तिपीठमा हरेक बर्ष जनैपूर्णीमाको अवसरमा लाग्ने पूजालाई व्यवस्थापन गर्न छलफल सहित निर्णय गर्दै बैठक सम्पन्न भएको जनाएको छ । बैठकले पूजामा स्थानीय तह र प्रशासनबाट आउने टोलीले सम्बन्धित पालिकाको नेतृत्वमा एकल सरकारी टोलीको रुपमा संयुक्त प्रतिनिधित्व गर्ने निर्णय गरेको छ ।

त्यस्तै त्रिवेणी पाटन क्षेत्रको फोहोर व्यवस्थापनका लागि बडीमालिका नगरपालिका, कालीकोट जिल्ला र बडीमालिका मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन त्रिवेणाी नगरपालिकाले गर्ने निर्णय भएको निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताए । बडीमालिकाको पूजा एकदशीबाटै सुरु गरी हरेक दिन भक्तजनहरुले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए । त्यसैगरी, मेला तथा पूजा अवधिभर धार्मिक क्षेत्रमा मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तुलाई निषेध गर्ने र यस्तो कार्य गर्ने गराउनेलाई कारबाहीको दायरामा ल्याइने पाण्डेले जानकारी दिए ।

त्यस्तै, बैठकले मेला क्षेत्रमा होटल, आवसीय टेन्ट र शौचालयका लागि निश्चित क्षेत्र निर्धारण गर्ने र त्यसको जिम्मेवारी पालिका र सुरक्षा निकायले लिने जनाएकाे छ  । मेलामा शान्ति सुरक्षा कायम, लेक लाग्ने जस्ता कारणले भक्तजनलाई उद्धार गर्नुपर्ने भएमा पहल गर्ने, आकस्मिक प्राथमिक उपचारका लागि स्वास्थ्य उपचार टोलीको व्यवस्था गरी खटाउने निर्णय गरेको छ ।

यस्तै, बडीमालिकाको दर्शन गर्न आउने दर्शनार्थीको बासस्थानको लागि मार्तडीमा रहेको कवर्ड हल, खुला मञ्ज, विद्यालय लगायतका स्थानको प्रयोग गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताए । उनले मेला क्षेत्रमा उपभोग्य वस्तुहरुको मूल्य निर्धारण गरी पालना गराउने, नाटेश्वरीमा हुने पूजाको व्यवस्थापन त्रिवेणी नगरपालिकाले गर्ने बताए ।

त्यसैगरी, जिससको बैठकले बडीमालिका भगवतीको नयाँ मन्दिर निर्माणको लागि पुजारी नेत्रराज पाध्या र नेपाली सेनालाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको बैठकमा पालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, निमित्त जिसस अधिकारी दिपेन्द्र पाण्डे, उद्योग वाणिज्य संघ, गैसस प्रतिनिधि लागयत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार