
बाजुरा– जिल्ला अदालत बाजुरामा चालू आर्थिक बर्ष २०८१।८२ मा एक सय ८० वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक बर्षबाट जिम्मेवारी सरेका ६९ र चालु आर्थिक बर्षमा एक सय ११ नयाँ मुद्धा दर्ता भएका हुन् ।
त्यस्तै जिल्ला अदालतमा दर्ता भएका नयाँ मुद्धा मध्ये हालसम्म ६५ वटा फछर्यौट भएका छन् भने ४६ वटा मुद्धा बाँकी छन् । गत आवबाट जिम्मेवारी सरेर आएका ६९ मध्ये ६८ फछर्यौट भएपनि एक मुद्धा भने यो बर्ष पनि फछर्यौट हुन नसकेको जनाएको जिल्ला अदालत बाजुराले जनाएको छ । फछर्यौट हुन बाँकी रहेका मुद्धामा जिम्मेवारी सरेको फौजदारी १, नयाँबाट देवानी २१ र फौजदारी २३, रिट १ र पुनरावेदनको १ मुद्धा रहेको छ ।
जिल्ला अदालतमा देवानीको तुलनामा सरकारवादी फौजदारीका जवरजस्तीकरणी, चोरी, कर्तव्य ज्यान, बहुबिवाह जस्ता मुद्धा बढी दर्ता हुने गरेको जनाएको छ ।
त्यस्तै जिल्ला अदालतमा गत आर्थिक बर्षको तुलनामा यस बर्ष मुद्धा दर्ताको संख्या बढेको पाइएको छ । गत आर्थिक बर्ष २०८०।८१ मा जिम्मेवारी सरेका सहित गरी जम्मा एक सय ४९ वटा मुद्धा दर्ता भएको जनाएको छ ।
जिल्ला अदालतमा मंगलवार भएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश सञ्जीव पोख्रेलले मुख्यतया ६ महिना, १२ महिना र १८ महिनामा मुद्धा गरी सक्नुपर्ने हुन्छ । तर गत आवको एक मुद्धा भने विविध कारणले समय सीमासम्म पनि फछर्यौट हुन नसकेको बताए ।
त्यस्तै, उक्त कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश पोख्रेलले अदालत परिवार सदैव नागरिकलाई न्याय दिने प्रयत्नमा लागि रहेको बताए । उनले सबैको महत्वपूर्ण योगदानले नै योजनाले निर्धारण गरेको लक्ष्य भन्दा बढी नै मुद्धा फछर्यौट गरिएको बताए । त्यस्तै उनले यसअघि २ जना मात्रै मेलमिलापकर्ता रहेको जिल्ला अदालतमा यहीँ असारबाट ९ जना थप गरेर सुचिकृत मेलमिलापकर्ताको संख्या ११ जना भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै न्यायाधीश पोखरेलले सञ्चार माध्यमहरुले अदालतमा विचाराधिन मुद्धा बाहेक अदालती काम कारवाहीको बारेमा नागरिकमाँझ सकरात्मक र जनचेतनामूलक सन्देश प्रवाहमा जोड दिनुपर्ने बताए ।
