शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा सवारी दुर्घटना सम्बन्धी कृत्रिम घटना अभ्यास

बाजुरामा सवारी दुर्घटना सम्बन्धी कृत्रिम घटना अभ्यास

  • शनिबार, असार २८, २०८२
बाजुरामा सवारी दुर्घटना सम्बन्धी कृत्रिम घटना अभ्यास

बाजुरा– बाजुरामा सवारी दुर्घटना तथा विपद्सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । शनिवार बिहान सदरमुकाम मार्तडीमा मानव संसाधन केन्द्र (एचआरसी) बाजुराको आयोजना तथा ह्याण्डिक्याप इन्टरनेसनलको सहयोग तथा जिल्ला अस्पतालको समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको हो ।

सवारी साधन दुर्घटनाका साथै विपद्जन्य घटनाहरु नियन्त्रण, पीडितहरुकाे उद्धार, उपचार तथा पूर्व तयारी सम्बन्धी घटना अभ्यास कार्यक्रम गरिएको एचआरसी बाजुराका अध्यक्ष निरबहादुर शाहीले बताए । कार्यक्रममा मालिका माध्यमिक विद्यालयका विद्यार्थी लगायतको सहभागीतामा दुई वटा गाडीको ठक्करबाट घाइतेहरुको उद्धार र उपचार सम्बन्धी अभ्यास गरिएको उनले बताए ।

त्यस्तै कार्यक्रममा कृत्रिम अभ्यास कार्यक्रममा दुर्घटनाबाट घाइतेहरुको उद्धार गर्न सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मीहरु खटिएका थिए भने जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत उद्धार गरिएको थियो । अस्पतालमा स्वास्थ्यकर्मीहरुले घाइतेहरुको वर्गीकरण गरी उपचार गरेको र केहीलाई थप उपचारका लागि बाहिर रेफर गरिएको अभ्यासमा समेटिएको थियो ।

त्यस्तै, मार्तडीको बसपार्कमा सडक दुर्घटनाको पूर्व अभ्यास पश्चात् जिल्ला अस्पतालमा दुर्घटनासँगै विपद् सम्बन्धी एक औपचारिक कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा बोल्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतले सडक दुर्घटनाका साथै विपद्जन्य घटनाहरुको नियन्त्रण तथा भइसकेपछि यसको सामना गर्दै उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । उनीहरुले आजको कृत्रिम घटना अभ्यासमा सूचनाको ढिलाई र समन्वयको अभावले तत्काल उद्धार गर्न नसकिएको भन्दै यस्ता घटनाले वास्तविक विपद्जन्य घटनाका लागि सबैलाई सचेत र सजग बनाएको बताए ।

त्यस्तै कृत्रिम घटना अभ्यासले वास्तविक घटनाको सामना गर्न पुर्व योजना, तयारी र सबै व्यक्ति तथा निकायवीच एकआपसको समन्वयमा सकरात्मक सन्देश प्रवाह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार