• होमपेज
  • समाचार
  • राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

  • बुधबार, असार १८, २०८२
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार