नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुवै न्यायाधीशमाथि छानबिन थालिएको छ । उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्चमा तानेर कारबाही अघि बढाएको हो ।
छानबिनमा तानिएपछि दुवै न्यायाधीशले मुद्दा हेर्न नपाउने भएका छन् । आलमलाई सफाइ दिने फैसलाका कारण विवादित बनेपछि उनीहरूलाई सर्वोच्चमा तानिएको हो । आलमलाई सफाइ दिएको आक्रोशमा दुवैजनालाई इजलासमै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले मोसो दलिदिएका थिए । त्यहीकारण उनीहरूको सुरक्षामा पनि चुनौती बढेपछि सर्वोच्चमा काजमा तानिएको हो ।
उनीहरूले जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको सजाय १४ जेठमा उल्ट्याइदिएका थिए ।जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी नख्खु जेलमा थिए । आलम त्यही बेलुका छुटिसकेका छन् । त्यसपछि उनलाई ब्रेन स्ट्रोक भएर गम्भीर बिरामी परेका थिए ।