
काठमाडौं— इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ। राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा दिल्लीले पन्जाबलाई पराजित गरेको हो। योसँगै शीर्ष पाँचमा रहँदै दिल्लीले २०२५ को आइपीएल सकेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २०६ रन बनाएको थियो। पन्जाबले दिएको २०७ रनको विजयी लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले १९.३ ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।
दिल्लीका लागि समिर रिज्वीले सर्वाधिक ५८ रन बनाए। उनले २५ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित रहे। ओपनरद्वय केएल राहुल र कप्तान फाफ डु पेल्सिसले क्रमश: ३५ र २३ रन बनाए। करुण नैरले ४४ रन र सेदुकिल्ला अटलले २२ रन बनाए। त्रिस्टन स्टुप्स १८ रनमा अविजित रहे। पञ्जाबका लागि बलिङतर्फ हरपित बार्रले सर्वाधिक २ विकेट लिए। र प्रवीण दुवेले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। पञ्जाबका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
ओपनर प्रभसिम्रन सिंहले २८ रन बनाउँदा जोस इङ्लिसले ३२, नेहालबडेराले १६, र शशांक सिंहले ११ रन बनाए। दिल्लीका लागि बलिङमा मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। विपराज निगम र कुलदेवी यादवले २-२ विकेट लिँदा मुकेश कुमारले एक विकेट लिए।
१४ खेल खेल्दा ७ जित र ६ हारका साथ एक खेलमा अंक बाँड्दै दिल्लीले १५ अंकसहित यो सिजन सकेको हो। पञ्जाबले भने अब लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको छ। पन्जाबले आफ्नो लिग चरणको अन्तिम खेल मुम्बई इन्डियनसँग खेल्नेछ।
हाल अंक तालिकाको दोस्रो स्थानमा रहेको पन्जाबले शीर्षस्थानका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरातले पनि लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ। गुजरातले आफ्नो अन्तिम खेल चेन्नाई सुपर किंगसँग खेल्नेछ।
२०२५ को आइपीएल सिजनको शीर्ष ४ भने टुङ्गो लागिसकेको छ। अब लिग चरणका अन्तिम खेलहरू मात्रै बाँकी छन्।
