
सरकारले विवाहको उमेर र किशोर-किशोरीबीचको यौनसम्बन्धलाई लचिलो बनाउने गरी मुलुकी अपराध संहितामा संशोधन प्रस्ताव गरेको छ । अहिले २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ । तर प्रस्तावित संशोधनले १६ वर्षमाथिका किशोर-किशोरीको विवाह बदर नहुने मार्ग प्रशस्त गर्दैछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिता संशोधनको मस्यौदामा भनिएको छ, ‘१६ वर्ष उमेर पुगेका व्यक्तिले आपसी मञ्जुरीमा विवाह गरी २० वर्ष उमेर नपुगेसम्म अलग–अलग बस्न मञ्जुर भएमा निजलाई अनुसन्धान अधिकारीले कागज गराई छाड्न सक्नेछन् ।’
वर्तमान मुलुकी अपराध संहिता १ भदौ २०७५ देखि लागु भएको थियो, जसमा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने व्यवस्था छ । मुलुकी अपराध संहितामा यस्तो काम गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ । तर, सरकार ७ वर्षअघि बनाएको कानुनलाई पुनः परिमार्जन गर्न जुटेको छ ।
प्रस्तावित संशोधन पारित भएमा १६ वर्षभन्दा कम उमेरमा विवाह गरिएमा मात्र स्वतः बदर हुनेछ । संशोधन भने १६ वर्ष नाघेका व्यक्तिको विवाह बदर नहुने प्रस्ताव छ । तर १६ वर्ष भन्दामाथि १८ वर्षभन्दा कम उमेरमा विवाह गरे वा विवाह गराउनेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था प्रस्ताव भने गरिएको छ ।

