
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरुबीच वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार राति वार्ता भएको हो।
वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारी सहभागी थिए भने सो क्रममा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यद्यपि बैठकमा भएका भएका थप विषय प्राप्त भइसकेको छैन। विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आव्हान गरेको थियो ।
न्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको अध्यक्ष सुवेदीले बताए ।
‘प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो । त्यसपछि राती ११ः३० बजे सभामुख देवराज घिमिरेसँग भेट भयो । वहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे छलफल भयो’, सुवेदीले भनेका छन् ।
हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने पनि सुवेदीले बताएका छन् । उनले सदा झैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।
‘हामी एक दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेट बारे सबै कुरा साथीहरू बिच राखिने नै छ । परिस्थितिको समग्र मूल्याङ्कनका लागि तहगत छलफलहरू गरिनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भने –’हामीले हिजोका दिनमा जे जे पाएका हौँ आन्दोलनको बलमा नै पाएका हौँ । अब पनि जे पाउने छौँ, त्यो आन्दोलनकै बलमा पाउनै छौँ । यो सत्यलाई हृदयङ्गम गरौँ ।’
मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहन उनले शिक्षकहरूलाई आग्रह समेत गरेका छन् ।
