त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकरप्रसाद खनालका अनुसार चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको हो ।
‘हिजै परीक्षा सकेर हिजै नतिजा निकालेका हौं। दुई बजे जाँच सकिएको थियो । सरहरूलाई परीक्षण गर्न भन्यौं । उहाँहरूले सहयोग गर्नुभयो । राति नै नतिजा निकाल्न सक्यौं,’ उनले भने । अध्ययन संस्थानका सहायक डिन महेन्द्र महर्जनले ४७ जना विद्यार्थीले परीक्षा दिएको बताए ।
‘सबै विद्यार्थी उत्तीर्ण भएका छन् । चौथो सेमेस्टरमा एउटा पेपर थियो । संख्या पनि थोरै भएकाले एकै दिन परीक्षा, परीक्षण र नतिजा निकाल्न सकियो,’ उनले भने ।
‘दुई वर्षमा स्नातकोत्तर सक्नु पर्ने हो । समयमै नतिजा निकालेको भएर विद्यार्थीको पढाइमा ग्याप नदेखिने भएको छ । समयमै नतिजा आएकोमा विद्यार्थी समेत उत्साहित भएका छन् । २०७९ मा भर्ना भएको ब्याच हो । दुई वर्षमै कोर्स पूरा भयो । विद्यार्थीको पढाइको ग्याप नहुने भएको छ । अब थेसिस गर्दा हुन्छ,’ उनले भने ।
धेरै विद्यार्थी भएका विषयमा पनि क्यालेन्डर अनुसार ९० दिन भित्र नतिजा निकाल्ने गरिएको उनले बताए । ‘सबै प्रोग्राम सेमेस्टर र ग्रेडिङ सिस्टममा छ । दुई वर्षदेखि हाम्रो संस्थानको आफ्नै क्यालेन्डर बनाएका छौं । एउटा समेस्टरमा पूरा गर्नुपर्ने सबै क्यालेन्डरमा राखेका छौं । सोही अनुसार कक्षा, परीक्षा र नतिजा निकाल्छौं,’ सहायक डिन महर्जनले भने ।