नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकमा छलफल गर्न तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दिपक काफ्लेले विधेयकमा छलफल गर्नका लागि आउन भन्दै महासंघलाई पत्र पठाएका थिए। त्यसपछि भोलि महासंघको अध्यक्षमण्डल गएर विधेयकका विषयमा छलफल गर्न तयार भएको हो ।
महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले वार्ताका लागि भनेर वार्ता समिति नबनेको तर, शिक्षा सचिवले पठाएको पत्र अनुसार विधेयकका विषयमा छलफल गर्न जाने लागेको बताइन् । शिक्षा ऐन जारी गर्नुपर्ने आफुहरूको मागका विषयमा शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ। तर, शिक्षा सचिवले विधेयकका विषयमा छलफल गर्न आउनु भनेपछि आफ्नो धारणा राख्ने जाने बताइन् ।
त्यसका लागि भोलि बिहान महासंघको टिम बसेर छलफल गरिने महासंघका महासचिव तुला थापाले बताए । वार्ताको लागि जाने नभई विधेयकका विषयमा महासंघको धारणा सरकारलाई जानकारी गराउन जाने महासचिव थापाको भनाइ छ ।