बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा आजबाट प्रथम बडीमालिका कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजनामा प्रथम बडीमालिका महोत्सव सुरु भएको हो ।
उक्त महोत्वसको आइतवार एक औपचारिक कार्यक्रमविच पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले उद्घाटन गर्दै सुभारम्भ भएको छ । आजबाट सुरु भएको प्रथम बडीमालिका महोत्सव चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै बडीमालिका क्षेत्रको पर्यटन प्रवद्र्धन, रैथाने बालीको उत्पादन, प्रचार प्रसार र संरक्षण तथा स्थानीय कला संस्कृतिको जर्गेना हुने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर विकले बताए । उनका अनुसार उक्त महोत्सवमा महानायक राजेश हमालसँगै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।
बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा रहेका थिए । त्यस्तै महोत्सव उद्घाटन समारोहमा पालिका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख तथा उप्रमुख, राजनीतिक दलका प्रतिनिधि, कलाकार, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी थिए ।