काठमाडौं — प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ ।
बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।
संसदमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
तर, प्रधानमन्त्री केपी ओली संसदमा उपस्थित भएर जवाफ दिन तयार भएका छैनन । सत्तापक्ष र प्रतिपक्षको अडानका कारण संसदका कामकारबाही प्रभावित हुँदै आएको छ ।