सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाचार
  • औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

  • शुक्रबार, चैत्र १४, २०८१
औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको छ । अब सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गरिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

भारतले १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको शाक्यले बताए ।

तर औद्योगिक क्षेत्रका ग्राहकहरुलाई बेलुका पाँच बजेदेखि राति साढे १० बजेसम्म (पिक आवर)मा भने ‘लाइट लोड’मा उद्योग चलाउन अनुरोध गरिएको उनले बताए । यो भनेकाे त्यो अवधिमा उद्योगहरु पूर्ण रुपमा चल्ने नभई अत्यावश्यक मेसिनहरु बन्द हुन नदिन मात्रै विद्युत उपभोग गर्नुपर्ने छ ।

‘यसअघि अघोषित लोडसेडिङ हुँदै आएकोमा अब सारभूत रुपमा यो हटेको छ,’ शाक्यले अनलाइनखबरलाई जानकारी दिए ।

भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्वक्षेत्रका औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँदै आएको थियो, जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती गर्नु परेको निजी क्षेत्रको दाबी छ ।

अघोषित लोडसेडिङको मारमा परेका कतिपय उद्योगहरू वैकल्पिक व्यवस्था गरेर उद्योगधन्दा चलाउन बाध्य छन् ।

भारतले नेपाललाई हाल उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउन सहमत भएको छ । अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात हुने ऊर्जा मन्त्रालयका अधिकारीहरुको भनाइ छ । यसरी रातको समयमा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउँदा अर्धजलासययुक्त आयोजनाहरुको जलासय भरेर पिकआवरमा चलाउने गरी लोड व्यवस्थापन गरिएको प्राधिकरणको भनाइ छ ।

भारतले थप बिजुली उपलब्ध गराउनुका अतिरिक्त हिमालको हिउँ पग्लेर नदीमा पानीकाे वहाव बढेकाले पनि उत्पादन बढ्न थालेको शाक्यको भनाइ छ । ‘विस्तारै अब नेपालभित्रै उत्पादन पनि बढ्नेछ,’ उनले भने ।

यसअघि ३ अक्टोबरमा भारतसँग भएको सम्झौताअनुसार २३० मेगावाट विद्युत निरन्तर दिने विषयमा पनि भारतको एनभीभीएन लिमिटेडले सकारात्मक प्रतिक्रिया दिएको प्राधिकरणको भनाइ छ । ‘यसअघि प्राधिकरणबाट फलोअप नभएका कारण फेब्रुअरीदेखि मे महिनासम्म भारतले ७ रुपैयाँ ५ पैसा भारुमा नेपाललाई २४ सै घन्टा दिने भनेर सम्झौता गरेको विद्युत उनीहरुले अरुलाई नै बेचेका रहेछन् । परराष्ट्रमन्त्रीज्यूको भारत भ्रमणकमा अवसरमा उहाँले त्यो विद्युत हामीलाई दिनुपर्ने कुरा राख्नुभएको थियो । सोअनुसार विद्युत उपलब्ध गराउन हामीले एनभीभीएनलाई बिहीवार पत्राचार गरेका छौं,’ शाक्यले भने ।

प्राधिकरणले पत्राचार गरेपछि उनीहरुले अन्य उत्पादकबाट विद्युत लिएर नेपाललाई उपलब्ध गराउने प्रकृया शुरु गरिसकेको जानकारी दिएको शाक्यले बताए ।

चर्चामा

सम्बन्धित समाचार