बाजुरा—जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा २ जना आयुर्वेद चिकित्सकबाट नियमित स्वास्थ्य सेवा प्रवाह हुदैँ आएको छ । सरकारले हालै छात्रवृत्ति कोटामा डाक्टर सर्वण कुवँरलाई बाजुरामा खटाएसँगै नियमित सेवा प्रभावकारी र थप विस्तार भएको हो ।
विगत लामो समयदेखि एक जना मात्र चिकित्सकबाट सेवा प्रवाह हुदैँ आएकोमा सरकारले आयुर्वेद चिकित्सक कुवरलाई खटाएको छ ।
कार्यालयमा आउने बिरामीहरुको चेकजाँच गरेर उपचार सहित निःशुल्क औषधि वितरण समेत गरिदैँ आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित ल्याव सेवा, पञ्चकर्म, दैनिक ओपीडि, जेष्ठ नागरिक सेवा, पाइल्स, स्तनपाइ सेवा तथा प्रयोगशाला लगायतका सेवा प्रवाह हुदैँ आएको कार्यालयले जनाएको छ ।
स्वास्थ्य केन्द्रबाट पेटसम्बन्धी रोगहरुमा भोक नलाग्ने, पखाला चल्ने, पेट भरिने तथा पेट दुख्ने, पोल्ने, दुख्ने, कब्जीयत, बावासिर, मूलद्धार च्यातिएको जस्ता बिरामी बढी आउने गरेको डाक्टर रञ्जीत केशरीले बताएका छन् । त्यस्तै महिलाहरुमा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारी समस्या, छाती सम्बन्धी रोग, खोकी, दम, छाला रोग, उच्च रक्तचाप, पिनास तथा बाल रोग जस्ता समस्याहरुको समेत उपचार हुने गरेको डाक्टर केशरीले बताए ।
विगतमा आयुर्वेद स्वास्थ्यप्रति चेतनाको अभावले खासै चासो नदिने सर्वसाधारण नागरिकहरु अहिले भने स्वास्थ्य केन्द्रबाट नियमित सेवा लिई रहेका छन् भने सेवा पनि प्रभावकारी रहेको सेवाग्राहीहरु बताउँछन् ।
त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रंगबहादुर कार्कीले २ जना चिकित्सकबाट नियमित स्वास्थ्य सेवा प्रवाह भएसँगै अहिले दिनप्रतिदिन सेवाग्राहीहरुको संख्या बढ्दै गएको बताएका छन् । कार्यालय प्रमुख कार्कीले दैनिक उपचारात्मक तथा पञ्चकर्म सेवासँगै निःशुल्क औषधि समेत वितरण गरिदैँ आएकाले सेवा लिन सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ८ महिनामा १६ हजार ९ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
हाल मार्तडीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अतिरिक्त बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रबाट पनि स्वास्थ्य सेवा प्रवाह हुदैँ आएको छ ।