धनगढी— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते कैलालीको धनगढीमा हुने भएको छ।
बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका नौ जिल्लामा प्रतिनिधि छनोट गरिसकिएको जानकारी दिए। अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै विभिन्न समिति गठन गरिएको उनले बताए।
पार्टी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत पदाधिकारीको सहभागिता रहने बताए। उनले आफ्नो पार्टी विपक्षमा रहे पनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताए। प्रदेशमा एकीकृत समाजवादीका १७ हजार ६७९ जना सङ्गठित सदस्य रहेको र प्रथम प्रदेश अधिवेशनमा करिब पाँच सय जना सहभागी रहने त्यस अवसरमा जानकारी दिइयो।