काठमाडौं —काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।
भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान जारी छ ।