काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमातहतमा रहेका ६४ वटा आंगिक क्याम्पस (६२ वटा क्याम्पसमा कक्षा सञ्चालन) र एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् ।
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको हक, हितको संरक्षण तथा सम्वर्द्धन गर्दै अनुसन्धानमूलक, बौद्धिक, प्राज्ञिक र चारित्रिक विकास गर्न, विद्यार्थीहरूमा शैक्षिक तथा सामाजिक मूल्य-मान्यता स्थापित गर्न शिक्षक, कर्मचारी र विद्यार्थीबीच आपसी समन्वयका साथ अनुशासन कायम राख्न स्ववियुको महत्वपूर्ण भूमिका मानिन्छ ।
यस्तै पठनपाठनका लागि उपयुक्त वातावरण तयार गर्न र अतिरिक्त क्रियाकलाप तथा खेलकुदका माध्यमबाट विद्यार्थीको चौतर्फी विकासमा पनि स्ववियुको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० र स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख भएबमोजिम निर्वाचन हुन गइरहेको निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव प्रा. पशुपति अधिकारीले बताए ।
उनले विश्वविद्यालयका दुई वटा आंगिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन सम्पन्न भइसकेको पनि जानकारी दिए । सदस्य सचिव अधिकारीले १३ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढाउन समझदारीको प्रयास भइरहेको पनि बताए ।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ।
सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए। सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ।