• होमपेज
  • समाज
  • जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो

जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो

  • आइतवार, चैत्र २, २०८१
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो

परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ ।

‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ– कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छेहरू भेला भएका छन् ।

उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । जति कुटेपनि किनारतिरै फर्किन जोड गरिरहेको हुन्छ।

ती व्यक्तिहरूले गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।

गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ।

नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।

यो उच्छृंखल र अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचिएको हो । स्थानीय पत्रकार डम्बरबहादुर बीसीले भिडियो खिचेर शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

बीसीका अनुसार सो घटना बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेको हो।

स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको बीसी बताउँछन्।

‘गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास छ ।’

यो प्रथा राम्रो होइन भनेर आवाज उठाएपनि गाउँलेहरूले टेरपुच्छर नलगाएको उनी बताउँछन् । ‘एउटा अवोध पशुलाई नदीमा डुबाउँदा पाप कटिदैन भनेर हामीले आवाज उठाइरहेका छौं’ उनी भन्छन्, ‘तर कसैले पनि यो कुरा सुन्ने र बुझ्ने

प्रयास गरेका छैनन् । त्यसैले वर्षौदेखि यो कुप्रथा जारी छ ।’

यसबारे हामीले जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीसँग बुझ्दा उनले यस घटनाबारे जानकारी नभएको बताए । ‘यो घटनाबारे मलाई केही पनि थाहा छैन’ शाहीले भने, ‘यो परम्परा उहिलेदेखि चलेको हो । बीचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन ।’

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेको जानकारी दिए । ‘यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं ‘ पाध्या भन्छन्, ‘यसो गर्न हुँदैन भनी जनचेतना फैलाउने काम व्यापक रुपमा भइरहेको छ ।’

गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो धर्म र परम्परा नभई अन्धविश्वास र अपराध भएको अधिकांशले टिप्पणी गरेका छन् ।

‘यो चलन रोक्न खोज्दा उल्टै हामीमाथि आइलाग्छन्’

वडाअध्यक्ष धनबहादुर सार्की
धनबहादुर सार्की, वडाध्यक्ष

जगनाथ गाउँपालिका –६

अहिले सामाजिक सञ्जालमा एउटा अत्यासलाग्दो भिडियो सार्वजनिक भएको छ, कर्णालीमा गाईलाई लखेट्दै डुबाएको । हेर्नुभयो ?

अँ मैले पनि देखेको छु । ढुंगाले हान्दै लखेटिएको रहेछ ।

खासमा के भएको हो त्यो ?

त्यो यहाँको परम्परा हो । कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने चलन छ । गौदान गर्दा यसरी गाईलाई लखेट्दै कर्णाली नदी पार गराइन्छ ।

यो प्रचलन तपाईंलाई कस्तो लाग्छ ? ठिकै हो र ?

अब प्रचलन हो, उहिलेदेखि चल्दै आएको । अहिले बुझ्दा त ठिक लाग्दैन । हामीले यसलाई रोक्ने प्रयास पनि गरिरहेका छौं ।

अनि किन रोकिएन त यो क्रम ?

हामीले धेरै पटक यसलाई रोक्न खोजेको तर स्थानीयहरु उल्टै हामीमाथि आइलाग्छन् । उनीहरुलाई के लाग्छ भने यसरी गौदान नगर्दा आफ्नो पितृले मुक्ति पाउँदैन । त्यही कारण उनीहरुलाई जति नै भनेपनि यस्तो काम गर्न छाडेका छैनन् । यसमा प्रशासन र अरुले रोक्न खोजेको हो । तर जति गरेपनि यो परम्परा हटाउन सकिएको छैन ।

साभार‍ अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार