हरेक दिन एक अर्ब महिला कुनै न कुनै प्रकारको हिंसाबाट पीडित हुने गरेका छन् । इतिहासमै सबैभन्दा ठूलो हिंसा महिलामाथि भइरहेको छ ।जहाँ शोषण दमन र हिंसा हुन्छ, त्यहाँ विद्रोह हुनै पर्छ । महिलाहरू ९ हजार वर्षदेखि उत्पीडन र शोषणको शिकार हुँदै आएका इतिहास हामिमाझ साक्षी नै छन् । हिंसा बिरुद्ध हुंने यस्ता अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाइरहेका हुन्छन् ।
यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोचमा के परिवर्तन आयो ? यौनजन्य र शारीरिक हिंसाको शिकारमा कति कमि आयो ? अभियानले के सन्देश दियो ? उत्साहपूर्वक अभियानमा सहभागी पुरूष मित्रहरूले महिलाहरूमाथि गर्दै आएको ब्यवहारमा के परिवर्तन गर्नुभयो ? अभियानमा सहभागी हामी महिलाहरूले के परिवर्तन गर्यौं ?
धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अहिले हामी २१ औं शताब्दिको अन्तिम दशकमा छौं । विज्ञान प्रविधि र सूचना सन्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोंच र बानिब्यहोरामा समेत ठूलो परिवर्तन ल्याइरहेको छ । र, हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ । अहिले पनि लैंगिक विभेदलाई विभिन्न तवरबाट टेवा मिलिरहेको छ । अनि राज्य र शासकहरू यही समाजको पक्षमा वकालत गरिरहेका छन् ।
हाम्रो समाजका कतिपय संस्कार, परम्परा रूढिवादी मात्र होइन, लैंगिक रूपमा असाध्यै विभेदकारी पनि छ । हाम्रो समाजमा महिलाले महिलामाथि गर्ने हिंसा पनि डरलाग्दो छ । समान लिंगमा हुने हिंसाको एउटा मुख्य कारण पुस्तान्तरणले ल्याएको समस्या हो । आमा-छोरा र सासू-बुहारीको बीचमा घरघरमा समस्या बढिरहेको छ ।
अधिकांश महिला अधिकारकर्मी र अन्य अभियन्ताहरू शहरका तारे होटलहरूमा गोष्टी, सेमिनार गरेर समय बिताइरहेका देख्न सकिन्छ । मेरो अनुरोध छ- जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीँ गएर खोजौं । अन्यथा, परिणाम टाउको दुखेको औषधि नाइटोमा दले बराबर हुनेछ ।