सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • ‘कैलाशद्वार पादुका त्रिवेणी धाम’ बाजुरा

‘कैलाशद्वार पादुका त्रिवेणी धाम’ बाजुरा

  • मङ्लबार, फाल्गुन १३, २०८१
‘कैलाशद्वार पादुका त्रिवेणी धाम’ बाजुरा

बाजुरा जिल्लाको उत्तरी क्षेत्र कोल्टी विमानस्थलबाट झण्डै चार किलोमिटर पूर्व राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरमा अवस्थित पादुका त्रिवेणी धाम हिमाली गाउँपालिका वडा नं. ७ र बुढीनन्दा नगरपालिका वडा नं. १ मा अवस्थित छ । स्वामिकार्तिक गाउँपालिकाको पवित्र क्षेत्र ‘देउरा’, जगन्नाथ गाउँपालिका पवित्र क्षेत्र ‘पिलुचौर’ को सङ्गम क्षेत्र हो पादुका त्रिवेणी धाम । पवित्र स्थल कैलाशद्वार पादुका त्रिवेणी धाम कुण्डा क्षेत्रका चारवटा पालिकाको आस्था मात्रै नभएर पादुका धामको नजिक पर्ने हुम्ला, मुगु, कालिकोट र जुम्ला जिल्लाका मानिसको पनि आस्थाको धरोहरका रूपमा रहेको छ । कुण्डा दरा र आसपासका क्षेत्रमा पादुकाको जललाई हरेक अर्थात सोह्र संस्कारमा पवित्र जल मानेर पूजाआजामा अनिवार्य गर्ने संस्कार रहदै आएको छ । (बुडिनन्दा निजार तालबाट निस्केको नदि बड्डीगाण, कर्णाली नदि र मानसरोवरबाट गुप्त रूपबाट निस्केको पानीको सङ्गमस्थल पादुका त्रिवेणी धाम ।
पादुका त्रिवेणीमा धाममा विवाह, वर्तबन्ध, नवग्रह पूजा, श्राद्ध आदि सोह्र संस्कार शुभ अशुभ सबै कर्म गरिन्छ । विशेष गरेर हरितालिका तीज, कृष्णाअष्टमी, माघेसङ्क्रान्ती र शिबरात्रीमा ठूला मेला लाग्ने गर्दछन् । माघेसङ्क्रान्तिको दिन रात्री तीन नदिको जल मिसिएको सङ्गममा पानी माथी दियो अर्थात ज्वाला बल्दै गरेको देखिने कुरा स्थानीय बुढापाकाहरू बताउँदछन् । विशेष गरेर माघ महिनामा स्नान गर्नाले पूण्य कमाइने विश्वास रहिआएको छ ।
पादुकाको बारेमा खास पौराणिक ऐतिहासिक ठोस आधारका शिला अभिलेख प्रमाण फेला पार्न नसकिए तापनि किंवदन्ती अनुसार महादेवले सतीदेवीको लाश बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको ‘पाउ’ खसेको हुनाले पादुका नाम रहन गएको भनाइ रहदै आएको छ । पादुका नजिकै जगनाथ र चन्द्रनाथको मन्दिर, खापर देवताको माणु, शिम्भुनाथ कैलाश, लाटो बाहुन, जरणी कैलाश, भवानी माणु, मस्टो देउता लगायत थुप्रै देविदेउताका मठमन्दिरहरू छन् । बडिमालिका, बुडिनन्दा र खेस्म्याल्नी माइको दृष्टि पर्ने पादुकामा कैलाशको दर्शन र मानसरोवर नुहाएपछि पादुकामा पनि एकपटक नुहाउनै पर्ने कुरा उल्लेख छ ।
देउलीकोट डाँडा कर्नालीमा पुगेर टुङ्गिएको स्थान नै पादुका हो । देउलीकोट डाँडा कतै नछुट्टिएर सिधै मानसरोवर तालसम्मै पुगेको छ भनिन्छ । त्यसैले मानासरोवर तालको जल गुप्तमार्ग (महानन्दा नदी) बाट पादुका कर्णालीमा मिसिन्छ भन्ने किंवदन्ती छ । मानसरोवरको जल जहाँनेर मिसिन्छ त्यहिँ नेर कर्नालीको पानी भुलभुल गरेको स्पष्ट देख्न पनि सकिन्छ । यिनै कुरासँग  स्कन्दपुराणको मानसखण्डको १७५ अध्यायको २३ देखि ३० सम्मका श्लोकहरुमा वर्णन गरिएको कुरा मेल खाएको देखिन्छ । स्थानीय कुण्डादराको देउलीकोटको अर्थ हुन्छ देव+अलि+कुट = देवलीकोट अर्थात ‘देवता बस्ने ठाउँ’ । स्कन्दपुराणको मानसखण्डको १७५ अध्यायमा पनि कुरुवंशी कर्णले आफ्ना पिता सूर्यदेवसँग बिन्ती गरेर मानसरोवरको जल गुप्त मार्गबाट निकालेर देखाइदिनुहोस् भनेपछि पिता सूर्यदेवले आह्वान गरी गुप्त रूपमा जल ल्याइदिएको प्रसङ्ग छ । त्यसैले पनि ‘अलि पर्वत’ भनेको देउलीकोट डाँडा र ‘गौरी पर्वत’ भनेको बुडिनन्दा डाँडा हुन् भन्ने बुझ्न सकिन्छ । किनभने अलिपर्वत र गौरी पर्वत जोडिएको ठाउँबाट गुप्तमार्ग भएर मानसरोवरको जल कर्णालीमा मिसाइएको वर्णन गरिएको छ । बुडिनन्दा र पादुका ऐतिहासिक पौराणिक धार्मिक स्थल हुन् भन्ने कुराको प्रष्ट हुन्छ ।
गौरी पर्वत अर्थात बुडिनन्दाबाट आएकी बड्डी गाण, वर्तुला अर्थात खुल्मी गाण, लम्बसिमा अर्थात् धुपा गाण, पादुकामा आएर कर्णालीमा मिसिएकी हुँदा त्यसै त्रिवेणीमा सूर्य पुत्र कर्ण  नुहाएर इन्द्रप्रस्थ शहरमा गए । कर्णले सूर्यदेवको प्रार्थना गरी वरदान स्वरुप मानसरोवरको जल गुप्त मार्गबाट पादुकामा मिसाएपछि सिद्धगणहरूले कर्णाली भनेर नामाकरण गरेका हुन् भन्ने कुराको वर्णन गरिएको छ । पादुका भन्दा माथी हुम्लागाण, मुगुगाण, गल्बागाण, कवाणीगाण विभिन्न ‘गाण’ अर्थात नदिहरू आएर कर्णालीमा मिसिएकाछन् । स्थानीय कथन र पुराणलाई आधार मान्दा  मानसरोवरको जल अलिकुट पर्वत अर्थात देउलीकोट डाँडाको बाटो भएर पादुकामा मिसिएको र सूर्य पुत्र कर्णले नुहाएको हुनाले पादुकाबाटै ‘कर्नाली’ नाम न्वारान भएको देखिन्छ ।
यस्तो पौराणिक, ऐतिहासिक धार्मिक स्थल ओझेलमा पर्नु दु:खद कुरा हो । त्यसैले पनि पादुका त्रिवेणी धामको विकासका लागि कुण्डा क्षेत्रका स्थानीय सरकार, सरोकारवाला, नागरिक समाजले साँच्चिकै आध्यात्मिक भावले चाहाने हुन् भने धेरै कुराको विकास हुनसक्ने अवस्था थियो । तर अनेक कामकुरा अर्थात बाहाना बनाएर व्यक्तिगत र राजनीतिक फाइदाका लागि मात्र लाग्दा ‘पादुका’, ‘देउरा’ र ‘पिलुचौर’ का नाममा राजनीति हुँदै आएको छ भन्ने कुरा ‘पादुका त्रिवेणी धाम’ का नाममा हुने गरेका मेला महोत्सवमा छर्लङ्ग देख्न सकिन्छ ।
विशेष गरेर यहाँको पर्यटन प्रवर्द्धनका लागि तीन वटै क्षेत्रमा व्यवस्थित तरिकाले ‘आर्यघाट’ निर्माण र क्रियापुत्री निवास अनि रिडि क्षेत्रमा बनेको जस्तै ‘पादुका’, ‘देउरा र ‘पिलु’ जोड्ने त्रिकोणात्म पुल र अहिले सञ्चालन भइरहेको वेद विद्याश्रमलाई व्यवस्थित गर्न सक्ने हो भने मात्रै बाँकी कुरा स्वत: बन्दै जाने देखिन्छ । यत्ति गर्नको लागि केन्द्रीय सरकारको मुख नताखी  कुण्डा क्षेत्रका चारवटै स्थानीय सरकारले चाहे पनि पुरा हुने देखिन्छ । त्यसका अलावा पादुकासँग आस्था रहिआएका छिमेकी जिल्लाका छिमेकी स्थानीय सरकारले पनि हातेमालो गर्ने देखिन्छ ।
पादुकाको साविक मन्दिर राणा प्रधानमन्त्री जङ्गबहादुरका बुवा बालनरसिंह कुँवर मानसरोवर दर्शन गर्न जाँदा पादुकाकै बाटो भएर गएका बेला उनैले पादुकामा मन्दिर बनाएका हुन् भन्ने गरिन्छ । पुरानो मन्दिरमा शिवलिङ्ग, विष्णुको पाउ र गाईको टीका चिन्ह शिलाहरू रहेकाछन् । पछिल्लो समय कैलाशद्वार पादुका क्षेत्रको विकास विस्तार र प्रचारप्रसारमा अहोरात्र खटिरहनु भएका मन्दिरका पुजारी मष्टिप्रसाद उपाध्यायको पहलमा दाताहरूको सहयोगले शिव मन्दिरका साथै सामान्य कोटिहोम, १ सय ८ वटा शिवलिङ्ग र राधाकृष्ण अनि दुर्गा देविको मन्दिर पनि स्थापना गरिएकाछन् । शिवको क्रिडास्थल, विष्णुले वास गरेको ठाउँ र पाँच पाण्डवले तपस्या गरेको स्थलका रूपमा पुजिन्छ ।
शिव आया बिष्णु आया पञ्च पाण्डव आया
पादुका नुवाइकन पुण्य कमाइ गया ।।

चर्चामा

सम्बन्धित समाचार