शुक्रबार, चैत्र १४, २०८१

जो मजदुरबाट मालिक बने

  • मङ्लबार, फाल्गुन १३, २०८१
जो मजदुरबाट मालिक बने

कैलाली–कैलालीको टीकापुर नगरपालिका–५ का ४० वर्षीय कलशराम चौधरी २०६० सालदेखि केरा कृषक विनोद साहको बारीमा मजदुरी गर्थें। मासिक दुई हजार रुपैयाँबाट मजदुरी सुरु गरेका कलशरामले साहको श्रीकृष्ण बागबानी प्रालिमा ६ वर्ष बढी काम गरे।

पूर्वी तराईबाट बिएस्सी उत्तीर्ण गरेर शिक्षक बन्न टीकापुर पुगेका विनोद साह त्यतिबेला ४० बिघा क्षेत्रफलमा केराखेती गर्थे। सयौं जनालाई रोजगार दिएका उनको केराप्रतिको मोह देखेर कलशरामले थोरै पैसामा पनि चित्त बुझाए। ‘आफैं केराखेती गरौंला भन्ने त सोचेको थिएन,’ कलशरामले भने, ‘६ वर्ष काम गरिसकेपछि केराखेतीबारे सबै काम सिकँेँ। कति बेला मलखाद दिने, कतिबेला सिँचाइ दिने, के औषधि दिने, बजारमा कसरी बेच्ने सबै कुरा सिकेपछि आफ्नै खेती गर्ने तयारी गरें र २०६६ सालमा ५ कठ्ठा जमिनबाट केराखेती सुुरु गरेँ।’

घरपरिवार चलाउनै धौ–धौ परेपछि उनले केराखेती सँगै टीकापुर बजारमा जुस पसल खोले। बिहान बेलुका केराखेती हेर्ने उनी दिउँसो बजारमा जुस बेच्थे। ‘जुस बेचेर नि पैसा आइरहेको थियो, केराबाट राम्रो आम्दानी भए पछि पसल छोडेर बर्सेनि केराखेती विस्तार गर्दै आइरहेको छु’, उनले भने, ‘हाल मैले १० बिघा क्षेत्रफलमा केराखेती गरिरहेको छु, ८ जनालाई नियमित रोजगारी दिइरहेको छु भने सिजनमा १४ जनासम्मलाई रोजगार दिन्छु।’

एकधुर जमिनसमेत नरहेका उनले केराखेतीबाटै डेढ बिघा जमिन खरिद गरेका छन्। टीकापुर पार्क रोडमै १ करोड रुपैयाँ बढीका ३ वटा घडेरी किनेका छन्। एक छोरा र एक छोरीलाई नेपालगञ्जमा स्नातक र ल्याब टेक्निसियन पढाइ रहेका छन्। ‘कमाउन त केही सकेको छैन सर, छोराछोरीलाई पठाएको छु, ८ जनालाई रोजगारी दिएको छु, मलाई यसैमा खुसी लाग्छ’, उनले भने, ‘केराखेतीबाटै गाडी चढ्ने योजना छ, हेर्दै जाउँ मेहनत गर्ने हो, एक दिन सफलता मिल्छ नै।’

उनी धेरै युवा कृषकहरूका लागि प्रेरणाका स्रोत हुन्। उनको बारी हेर्न दैनिक युवा किसानहरू आउने गरेका छन्। आफ्ना छोराछोरीलाई केराखेतीमै लगाउने योजना बनाइरहेका उनले विदेश जत्तिकै कमाई नेपालमै हुने विश्वास दिलाइ रहेका छन्। 

केरा उत्पादक संघका उपाध्यक्ष धामीले कलशरामबारे भने, ‘अर्को किसानको मजदुरी गरेर आफै‌ केरा किसान बनेका उनी निकै मेहनति, आँटिला र धेरै युवाका लागि प्रेरणादायक छन्।’ 

टीकापुर नगरपालिका ५ का ३१ वर्षीय हेमराज घर्तीमगर समेत पेटी ठेकेदारको मजदुरी गर्थें। भारतका विभिन्न सहरमा कामको खोजीमा भौतारिएका हेमराजले १०० र ५० रुपैयाँका लागि कैयौंसँग हात फैलाउनु पर्दथ्यो। 

‘सात वर्षअघि थोरै जमिनबाट केराखेती सुरु गरेको थिएँ, हाल ३ बिघामा केराखेती गरिरहेका छु। आगामी वर्ष ८ बिघा पु¥याउने लक्ष्य राखेका छु’ हेमराजले भने, ‘केराखेती सुरु गरेपछि कसैसँग हात फैलाउनु परेको छैन। केराखेतीबाटै १६ कठ्ठा खेतीयोग्य जमिन र १ कठ्ठा घडेरी जोडेको छु, छोराछोरी राम्रो स्कुल पढिरहेका छन्।’

साथीभाइ विदेश जाँदा भने उनको मन अमिलो हुन्छ। आफ्नै घर परिवारसँग बसेर थोरै मेहनत गरे नेपालमै राम्रो आम्दानी गर्न सकिने आफू जस्ता युवाहरूले प्रमाणित गर्दा समेत युवा पलायन नरोकिनु दुःखद रहेको उनी बताउँछन्। साभार अन्नपुर्ण पाेष्ट बाट

चर्चामा

सम्बन्धित समाचार