
बुटवल– १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा पाल्पामा घरबेटीले एक जनाको हत्या गरेको खुलेको छ । तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेको खुलेको हो ।
बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।
सोही आधार हिजो घरबेटीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । विष्टलाई जिल्ला अदालतबाट बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
