• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सरकारी अनुगमनकाे थलाे बन्याे गेटा मेडिकल, भिआइपी अनुगमन हुन्छ काम हुदैन

सरकारी अनुगमनकाे थलाे बन्याे गेटा मेडिकल, भिआइपी अनुगमन हुन्छ काम हुदैन

  • बुधबार, पुस २४, २०८१
सरकारी अनुगमनकाे थलाे बन्याे  गेटा मेडिकल, भिआइपी अनुगमन हुन्छ काम हुदैन

धनगढी–  सरकारले २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेपनि भौतिक संरचना निर्माणको काम भने २०७४ देखि मात्र सुरू भयो । राज्यका तर्फबाट करिब ७ अर्ब लगानी पूर्वाधार विकासमै खर्च गरिसकेको छ । २८ वटा भन्दा बढी सुविधा सम्पन्न आधुनिक भवनहरु समेत बनिसकेका छन् ।

गेटामा बनेका संरचना हेर्दा लाग्छ, मेडिकल कलेज सञ्चालन गरेपनि, विश्व विद्यालय बनाएपनि कुनै कामका लागि कमी छैन् । ६ सय शैयाको अस्पताल सञ्चालन र मेडिकल शिक्षा पढाउन पुग्ने संरचना २ वर्ष अघि नै ठडिसकेका छन् । तर राज्य विश्व विद्यालय, मेडिकल कलेज वा अरु कुनै के सञ्चालन गर्ने आफै अन्योल जस्तो देखिन्छ ।

संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताकै कारण सञ्चालनमा नआएकोमा भने आशंका गर्ने ठाउँ छैन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन छ । यो विधेयक पारित नहुँदा सञ्चालन थप जटिलता देखिन्छ । यति ठूलो लगानीलाई समयमै सदुपयोग गर्न नसकेपनि सरकारी उच्च पदस्थ अधिकारीको अनुगमनको थलो भने, गेटा बनेको छ ।

अपवाद बाहेक सरकारका सबै उपल्लो पदासिनहरुले धनगढी टेक्दा गेटा पुगेकै हुन्छन् । प्रधानमन्त्री देखि दलका नेतासम्म, मन्त्री देखि मन्त्रालयका बिशिष्ठ कर्मचारीसम्मले गेटाको अनुगमन गरेको र आश्वासन दिएर फर्किएको रेकर्ड छ । त्यही सूचीमा थपिए वर्तमान ओली सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ।

पौडेल मन्त्रालयकै कामको शिलशिलामा धनगढी आइपुगेका हुन् । मन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका मन्त्री पौडेलले आफू मातहतको संरचनाको अनुगमन नगर्ने कुरै भएन् । लामलस्कारका साथ मन्त्री पौडेलले पनि अर्वौ लगानीका संरचनाको अनुगमन गरे । संरचना देख्दा हौसियपनि । तर सञ्चालन अवस्था बारे खुलेरै बोल्न सकेनन् ।

हाल गेटामा ५० शैयाको अस्पताल सञ्चालन भइरहेको छ । सुन्दा पनि लाज लाग्ने र लगानीको खिल्ली उडाउने काम राज्यबाटै भएको प्रति यहाँका नागरिक आक्रोशित छन् । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर सरकार अलमलिदा पटकपटक आन्दोलन समेत भयो । डा.गोविन्द्र केसी धनगढीमै पुगेर गेटाकै बाहनामा दर्जनौ पटक अनशन समेत बसे । तर विश्वविद्यालय बन्ने की, मेडिकल कलेज सुरसार छैन् ।

सुदूरपश्चिम बाहेक सबै प्रदेशमा मेडिकल पढाई हुन्छ । संरचना बनेर पनि आफ्नै प्रदेशमा मेडिकल कलेज बनाएर पढाई सञ्चालन गर्न नपाउनेमा सुदूरपश्चिम मात्रै अभागी हो । अझै केही वर्ष कुर्नु पर्ने देखिन्छ । ३ सय शैया सञ्चालनको तीन वर्ष पुग्नु पर्ने सरकारी मापदण्ड छ । गेटामा अहिलेसम्म ५० शैयाको अस्पताल बाहेक सञ्चालन हुन सकेको छैन् । राज्यले सुदूर प्रतिको सौनेती व्यवाहार र गैर जिम्मेवार बनेको आरोप र आक्रोश यहाँका नागरिकको छ ।

मन्त्री भएपछि चर्चा बटुलिरहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यही आक्रोशलाई संवोधन गर्न भएपनि गेटामा एमबीबीएस पढाई हुने आश्वासन दिन भ्याए । बिशेष निर्णय मार्फत भएपनि आउने असारबाट मेडिकल शिक्षा एमबीबीएस पढाई सुरु गरिने पौडेलले अनुगमनका क्रममा प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री पौडेल एक दिनका लागि सुदूरपश्चिम आएका हुन् । उनले एकै दिन आधादर्जन बढी कार्यक्रममा सहभागि हुन भ्याए । त्यो मध्येको एक गेटाको अनुगमन पनि हो । उसोत संघीय सरकारले ०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शैयाको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गर्दापनि स्वास्थ्य मन्त्रालयले ५० शैयाको मात्रै अनुमति दियो ।

त्यही निर्णय अनुसार ०८० कात्तिक १ देखि ओपीडी सेवा सुरु छ । दर्जन बढी बिशषेज्ञ डाक्टर सहीत कर्मचारी कार्यरत छन् । तर उपचारका लागि विरामी निकै कम छन् । २०८१ को साउन ३२ देखि अन्तरंग सेवापनि सुरु गरेको छ । हालसम्म एक जना बिरामी पनि अस्पतालमा उपचारका लागि गएका छैनन् । यस्तो दयालाग्दो अवस्थाका बीच स्वास्थ्य मन्त्रीको दाबी कार्यान्वयन हुनेमा विश्वास गरिहाल्नु पर्ने अवस्था छैन् ।

हाल नेपालभर सरकारी र निजी गरि २५ बढी मेडिकल कलेज छन् । सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ । सुदूरपश्चिमवासी भने कुनै गम्भीर रोग लाग्दा उपचार गराउन भारतको लखनउ, नयाँदिल्ली लगायतका अस्पताल जान बाध्य छन् । यो देशकै ठूलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश पनि हो ।

उसोत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले देउवाको नामै लिएर गेटा र डडेल्धुरामा मेडिकल शिक्षा पढाउने गरि काम थाल्न भनिसकेको समेत अनुगमनका क्रममा भन्न भ्याए । ‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ,’ पौडेलले भने ।

चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाइ सुरू नभएकाले त्यसका लागि विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने पौडेलको भनाई छ ।

‘चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पतालको सञ्चालन प्रक्रिया सुरु हुने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिन्छ । राज्यले विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ,’उनले भने ।’

सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमबीबीएसको पढाइ भयो भनेर भन्न सकिने अवस्था मेरै पहलमा मेरै पालना गर्ने दाबी पौडेलको थियो । आफू मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको अनुगमन तथा निरीक्षणका क्रममा स्मरण गराए । ‘म मन्त्री हुने वित्तिकै मेरो पार्टी सभापतिले बोलाएर मेरो प्रदेशमा मात्र एमबीबीएसको पढाइ भएको छैन । गेटा र डडेल्धुरामा त्यो काम गर्नु भनेर निर्देशन गर्नु भएको थियो । म पार्टी सभापतिको निर्देशन अनुसार काममा खटिएको छु,’ आउने असारबाट त्यो हुन्छ, उनले भने ।

पौडेलले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह समेत गरे । ‘तीन सय शैयाको अस्पताल पनि चल्दै गर्छ । चिकित्सा शिक्षाको पढाइ पनि हुँदै गर्छ । मेडिकल विश्वविद्यालयको आफ्नो प्रक्रिया छ, त्यो पनि अघि बढ्दै गर्छ,’ सुदूरपश्चिम बासीले त्यसमा आशंका गर्नै पर्दैन्, उनले भने ।

तीन सय, ६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न आग्रह गरे । गेटामा बनेका पूर्वाधार संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत बनेका हुन् ।

शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय बिरामीको घुइँचो भइरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५÷२० जना बिरामी मात्रै आउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार