• होमपेज
  • बाजुरा बिशेष
  • झिलिमिली बन्दै बाजुराको विकट बस्ती बिच्छयाँ, स्थानीय उत्साहित

झिलिमिली बन्दै बाजुराको विकट बस्ती बिच्छयाँ, स्थानीय उत्साहित

  • सोमवार, पुस २२, २०८१
झिलिमिली बन्दै बाजुराको विकट बस्ती बिच्छयाँ, स्थानीय उत्साहित

प्रकाश सिहं– बाजुराको दुर्गम हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविस केही महिनामै झिलिमिली हुने भएको छ । हिमाली गाउँपालिका १, २ र ३ वडाका ६ सय ८२ परिवार र वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा केही महिनाभित्र बिजुली बल्ने भएको हो ।

अँध्यारोमा बस्दै आएका गाउँले बिजुली बल्ने भएपछि निकै उत्साहित र खुसी भएका स्थानीय छक्कलाल थापाले बताए । ‘वर्षौंदेखि झरोको सहारामा उज्यालो बालिरहेका स्थानीय २०८२ जेठसम्म बिजुली बाल्ने छन्,’ उनले भने । गाउँपालिकाको सहकार्यमा ‘कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थासँगको सहकार्य तथा सहयोगमा बिजुली बाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

हिमाली गाउँपालिकाको २ मा नातिखोला लघुजलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुने भएको हो । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङका अनुसार २०८२ जेठसम्म बिच्छयाँका सबै गाउँमा बिजुली बालिसक्ने योजना छ ।

झन्डै १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न हुने लागेको हो । परियोजनाको काम गत वर्षबाट सुरु भएको हो । परियोजना सम्पन्न गर्न संस्थाले दुई चरणमा काम गरेको थियो । बिजुली बाल्ने लगभग अन्तिम चरणमा पुगेको गुरुङ बताउँछन् । बिच्छयाँमा चाडो बिजुली बाल्न संस्थाले हेलिकप्टर मार्फत हुम्लाको जिबानाबाट सामान ढुवानी गरेको छ । जिबानासम्म यातायातको साधन मार्फत ढुवानी गरिएको थियो । बिच्छयाँ यातायातको पहुँचमा नभएकाले हेलिक्पटर मार्फत सामान ढुवानी गरिरहेको छ ।

सो संस्थाले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छयाँका ४ ठाउँमा झोलुङ्‍गे पुल, खानेपानी योजना साथै विद्यालयमा चार कोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ । बिच्छयाँ बाजुराको पनि दुर्गम र पिछडिएको क्षेत्र भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संस्था यो परियोजना लिएर त्यहाँ पुगेको हो ।

बिच्छयाँबारे सञ्चारमाध्यमबाट जानकारी पाएलगत्तै यहाँ पुगेको प्राविधिक निर्देशक डा. नारायण गुरुङ बताउँछन् । योभन्दा पहिला गौमुल गाउँपालिकामा बिजुली बालेको यो संस्थाले अहिले त्यहाँ झोलुङ्‍गे पुल र खानेपानी योजना निर्माण गरेको छ । संस्थाले नेपालका विकट ठाउँमा पुगेर काम गरिरहेको गुरुङ बताउँछन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना मार्फत फिनल्यान्ड सरकार र युरोपियन युनियन, गाउँपालिका र स्थानीयको श्रमदानमा चार वर्ष पहिला बिजुली बाल्ने प्रक्रिया अगाडि बढाएको थियो । दुई वर्षपछि एकाएक ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले काम गर्न नसक्ने बताएपछि बिच्छयाँवासीको बिजुली बाल्ने सपना अधुरै थियो ।

कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले हेलिकप्टर मार्फत हुम्लाको जिबानाबाट बिच्छयाँ गाउँमा सामान लैजाँदै । यहाँ यातायातको पहुँच नभएकाले हेलिकप्टर मार्फत सामान ढुवानी गर्नुपरेको हो । बिच्छयाँ खोला लघु जलविद्युत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मबहादुर रोकायाका भनाइमा चारवर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानीय बासिन्दा एकाएक निराश बनेका थिए । अब कादुरीले विद्युतीकरणको काम अगाडि बढाएसँगै उनीहरूको निरासा आशामा बदलिएको छ । स्थानीयवासी निकै हौसिएका छन् ।

बिच्छयाँ साविकको एउटा गाविस हो । अहिले यो हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ पर्छ । बिच्छयाँका सबै बासिन्दाको पहिलो प्राथमिकता अहिले पनि बिजुली बाल्ने छ । यो ठाउँ पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिनभन्दा बढी हिँड्नुपर्छ । वर्षौंदेखि यहाँका बासिन्दा झरोको सहारामा उज्यालो बाल्दै आएका छन् । बिच्छयाँ जिल्लामा सडक यातायातको पहुँच नपुगेको साविकको एक मात्र गाविस हो ।

यो ठाउँमा राष्ट्रिय प्रसारण लाइन पुग्ने कुनै सम्भावना थिएन । संस्थाले बिजुली बाल्न सहयोग गरेपछि स्थानीयका सपना पूरा हुन लागेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार