• होमपेज
  • समाचार
  • गोरखामा घरेलु मदिरा ब्राण्डिङ गरि बिक्री वितरण सुरु

गोरखामा घरेलु मदिरा ब्राण्डिङ गरि बिक्री वितरण सुरु

  • सोमवार, पुस २२, २०८१
गोरखामा घरेलु मदिरा ब्राण्डिङ गरि बिक्री वितरण सुरु

गोरखाका केही पालिकाले घरेलु मदिरा (लोकल रक्सी)को ब्राण्डिङ सुरु गरेका छन् । गण्डकी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण सुरु गरिसकेको छ भने अजिरकोट गाउँपालिकाले पनि अन्तिम तयारीमा छ । गण्डकी गाउँपालिकाले ‘गण्डकी कोदोको रक्सी’ नाम दिएर स्थानीय बजारमा बिक्री वितरण सुरु गरेको हो । मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा पालिकाले महिला समूहलाई दिएको छ । हाल वडानम्बर २ को जलकन्यादेवी कृषक समूह र वडानम्बर ६ चिसापानीको महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङको काम गरिरहेका छन् ।

उनीहरुलाई पालिकाले आवश्यक तालिम र घरेलु मदिरा उत्पादनका लागि आवश्यक भाँडाकुडा वितरण गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । ‘कोदो र रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत उनीहरुलाई कोदो उत्पादनसम्बन्धी तालिम दियौं,’ उनले भने, ‘रक्सी बनाउने भाँडाकुडासँगै बोत्तल र स्टीकर पनि दिएका छौं ।’

कोदो उत्पादन गरेर ती समूहमा बेच्नेलाई प्रतिकेजी ५ रुपैयाँ अनुदान रकम पालिकाबाट उपलब्ध हुदैँ आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ती समूहरुले आफैं रक्सी उत्पादन गर्छन् । शुद्ध कोदो र जडीबुटी मिसाएर उत्पादन गरिएको रक्सीलाई मेसिनमा राखेर अल्कोहलको मात्रा नापिन्छ । अनि लेवल ठीक भए त्यसलाई ब्राण्डिङ गरेर बोत्तलमा राखिन्छ । अनि बाहिर ‘गण्डकी ब्राण्ड’ नामको स्टीकर राखेर बजारमा लगिन्छ ।

शुद्ध कोदो र जडीबुटी मात्र राखेर रक्सी उत्पादन हुने गरेको वडानम्बर २ का अध्यक्ष यमबहादुर थापाले बताए । ‘धेरैजसो रक्सी महिला समूह आफैंले पार्नुहुन्छ, अन्तबाट पनि किनेर ल्याउँछन् तर शुद्ध कोदो र जडीबुटीको मात्र भए किन्छन्, तर मिसावट वाला लिंदैनन्,’ उनले भने । उक्त समूहले उत्पादन गरेर ब्राण्डिङ गरेको रक्सी पातिस्वाँरा मनमोहक होमस्टेका साथै पालिकाभित्र बिक्री वितरण हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरमा उत्पादित कोदो अपुग हुने गरेको छ ।

शहीद लखन गाउँपालिकाबाट कोदो किनेर ल्याउने गरेको उनले बताए । ब्राण्डिङ गरिएको रक्सी बेनिघाट, हाइवे, लगायतका ठाउँमा बिक्री हुने गरेको छ । बाहिरी जिल्लामा ढुवानीका लागि वैधानिकता नपाएकाले पनि समस्या भएको उनको गुनासो छ । मगरात होमस्टेले पनि लोकल रक्सीलाई ब्राण्डिङ गरेर बेच्न सुरु गरेको उनले जानकारी दिए । बाहिरबाट आउने अखाद्य पदार्थ मिसिएको रक्सी नियन्त्रणमा लागि लोकल रक्सीलाई ब्राण्डिङ गर्न थालिएको पालिकाले जनाएको छ ।

यता अजिरकोट गाउँपालिकाले पनि लोकल रक्सीको ब्राण्डिङ गर्ने अन्तिम तयारी गरेको छ । कानून सम्वत रुपमा जान खोज्दा केही समस्या भएकाले पालिकाले केही मापदण्ड र कार्यविधि बनाएर अघि बढेको पालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘होमस्टेलाई यसको जिम्मा दिने हो,’ उनले भने, ‘केही टिमलाई अध्ययन अवलोकनमा समेत लगिसकेका छौं, अब केही समयपछि उत्पादन सुरु हुन्छ ।’ अजिरकोट ब्राण्ड नाम राखेर बजारमा ल्याइने उनले जानकारी दिए । ब्राण्डिङका लागि होम स्टेहरुलाई बोत्तल र स्टिकर सहयोग गरिने बताइएको छ । माघ महिनासम्म ब्राण्डिङ गरेर स्थानीय बजारमा घरेलु मदिरा आउने पालिका अध्यक्ष देवकोटाले जानकारी गराए । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार