टेक बहादुर बुढा—सुदूरपश्चिम प्रदेशको प्रसिद्ध प्रमुख धार्मिक तथा पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । बाजुरा, बझाङ, अछाम र डोटीको सिमानामा अवस्थित धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जमा हिउँद भन्दा बर्खायाममा बढी पर्यटकहरु घुम्न आउने गर्दछन् ।
राष्ट्रिय निकुञ्जका अनुसार खप्तडमा दिन प्रतिदिन स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्यामा बृद्धि हुदै गएरहेको पाइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार यादवले गत आर्थिक बर्ष २०८०।०८१ मा स्वदेशी विदेशी गरी करिब साढे तीन हजार पर्यटक घुम्न खप्तडमा पुगेका छन् । उनका अनुसार गत बर्षमा ३ हजार ३ सय ७० जना स्वदेशी र सार्क राष्ट्रका ३२ तथा त्यस बाहेकका देशहरुबाट २६ जना खप्तडमा पुगेको तथ्याकंमा उल्लेख गरिएको छ । राष्ट्रिय निकुञ्ज प्रमुख यादवले भने,“ खप्तडमा लाग्ने गंगा दशहरा मेला बाहेक अरु समयमा घुम्न आउने पर्यटकहरुबाट शुल्क समेत लिन्छौ, त्यसमा स्वदेशी तथा विदेशीको फरक–फरक शुल्क निर्धारण गरिएको छ ।” खप्तडमा घुम्न आउने स्वदेशी पर्यटकहरुका लागि एक सय, सार्क राष्ट्रका लागि ७ सय ५० र अन्य विदेशी पर्यटकहरुका लागि एक हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको प्रमुख यादवले जानकारी दिए । राष्ट्रिय निकुञ्ज प्रमुख यादवले भने अहिले पनि पर्यटकहरुका लागि उचित खाने बस्ने व्यवस्था नहुँदा सोचे अनुरुप पर्यटकहरुको संख्या बढ्न सकेको छैन् । खप्तडमा सबैभन्दा बढी पर्यटक बझाङको लोखडाबाट घुम्न आउने गरेको जनाएको छ ।
खप्तड क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थल, प्राकृतिक दृश्यका साथै विभिन्न जङ्गली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्र मनमोहक छन् । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ ।
राष्ट्रिय निकुञ्जमा करिब ५ बर्ष अघि खप्तड क्षेत्रमा आउने पर्यटकको सहज आवास सुविधाका लागि दुई वटा आवास गृहका भवनहरु निर्माण गर्न सुरु गरिएका भएपनि हालसम्म पनि निर्माण हुन सकेका छैनन् । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य छन् । ‘करोडौंका सुविधायुक्त भवन ठेकेदारको लापरबाही र अहिले बजेट अभावका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र रहेको निकुञ्जले जनाएको छ ।
खप्तड क्षेत्रमा जाडोयाममा ६।७ फिटसम्म हिँउ जम्ने र अत्याधिक चिसोले सोलारबाट प्राप्त हुने विद्युत पर्याप्त नहुने र सोलारमा समेत हिँउ जमेर टेलिफोन, सञ्चार, नेट इन्टरनेट सेवा अवरुद्ध हुने गर्दछ । त्यस्तै निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, तीर्थयात्री, पर्यटक र होटल व्यवसायीहरुको जीवन कष्टकर हुने गरेकाले तत्काल विद्युत र सञ्चार सेवाको पहुँचमा पर्याउन आवश्यक रहेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ ।
त्यसै गरि निकुञ्जले गत आर्थिक बर्षमा गिट्टी बालुवा र ढुगांको जरिवाना स्वरुप ८ लाख राजस्व संकलन गरेको छ । त्यस्तै पर्यटकहरुबाट आन्तरिक पर्यटकबाट ३ लाख ३७ हजार सार्क राष्टका पर्यटकबाट २४ हजार र अन्य पर्यटक बाट ३९ हजार गरि ४ लाख रुपिया राजस्व संकलन गरिएको निकुञ्जको कार्यालयले जनाएको छ ।