• होमपेज
  • समाज
  • सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन

सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन

  • शनिबार, पुस २०, २०८१
सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन

सर्वोच्च अदालतका एक कर्मचारीले मुद्दा जिताइदिन १० लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ। ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले ती कर्मचारीलाई घुस आरोप लगाएकी हुन् । निरौलाले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको उनको जिकिर छ ।

यदि कथंकदाचित मुद्दा हारेमा उक्त घुसको पैसा फिर्ता गरिदिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उनले पत्रमा उल्लेख गरेकी छन् ।‘मेरा पति स्वर्गी श्री नारदप्रसाद गौतमसमेतको मुद्दाबारे सर्वोच्च अदालतमा कारबाही चलिरहेको अवस्थामा जिताइदिन्छु भन त्यस सेवामा काम गर्ने पुष्कर थापा नामका एक कर्मचारीले म निवेदकबाटमार्फत् अक्षरेपी दश लाख रुपैयाँ फिर्ता दिलाई पाउन फर्मको प्रतिलिपिहरू यसै साथ संलग्न राखेर पठाएकी छु,’ उनले निवेदनमा भनेकी छन् ।

उनले कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनलाई बोधार्थ दिएकी छन् । यसबारे थापाले आफूलाई केही कर्मचारी संगठनहरूले सोधपुछ गरेको बताउँदै अदालतमै निवेदन आएको थाहा नभएको बताए । आफूलाई आरोप लगाउने महिलासँग मुद्दा जिताउने भनेर पैसा नलिएको जिकिर थापाले गरेका छन् । आफूले एकजना चौहान थरका व्यक्तिमार्फत् १३ लाख रुपैयाँ ती महिलाका पतिलाई दिएको र अझै २ लाख रुपैयाँ फिर्ता पाउनै बाँकी बताए ।

ती महिलाले सापटी फिर्ता पठाएको भौचरलाई अहिले प्रमाण देखाएर आफ्नो बदनाम गराउन खोजेको थापाले बताएका छन् । थापाले अहिले आफू सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत रहेको पनि बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार