बाजुरा– जिल्लाको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आज बिषेश दिनकाे रुपमा रहेकाे छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। भुवा पर्व पुषे औसीका दिनबाट सुरु हुन्छ। पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन रहेको छ। जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ।
तीन देखि पाँच दिनसम्म मनाइने पर्व जिल्लाका बिभिन्न ठाउँमा विशेष महत्वका साथ खेल्ने गरिन्छ। पौराणिक कालमा पाण्डव र कौरव बिच भएको लडाइको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको छ। यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ। भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ। लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ।
भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रदर्शन गर्ने प्रचलन रहेको छ। भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ। जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ। नै ठाउँमा भैलो पुनिदेखी मनाउने चलन छ । भैलो पुनिदेखि भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा औसीकाे अघिल्लो दिन राति मुणा सल्काई रातभरी देउडा, भारीखेल, भोस्सो, हरुपानिया, र दिउसाे चाली खेल्ने चलन छ ।
यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । अर्को खेल चाली चालीको पनी छुट्टै विशेषता छ । दायाँ हातमा तरवार र बायाँ हातमा ढाल समाई पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरवबीच लडाई हुँदा एक हातमा तरवार र अर्को हातमा ढाल समाई गरेको सम्झनामा खेल्ने खेल चाली हो ।
अर्को विशेषता राँके जुलुसका बारे पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरेकोस्थानीयबासी रामचन्द्र पाध्यायकाे भनाई छ । ‘राति चार बजे राँको सल्काई नजिककै खोलामा गई नुहाएपछि शरीरको छाला सम्बन्धी रोग हराउने र पुसको चिसो रातमा नुहाउँदा मान्छेमा यति धेरै शक्ति रहेछ भनेर राक्षसहरु डराउने हुँदा सबै मान्छेहरु एकैसाथ खोलामा नुहाउने चलन चलेको हो ।’
भुवा पर्वको अन्तिम दिन दिउँसो सबै मान्छे भुवा खेल्न जम्मा भई आफूभन्दा ठूलाबाट टिका लगाई आर्शिवाद माग्ने र चाली खेलेर समापन गर्ने गर्दछन । पुरुषहरूको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाहरूले पनि हातमा तरबार ढाल लिएर खेल्ने गरेको पाइन्छ। भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन्। यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान्, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ।
जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् भने स्थानिय तहले समेत सार्वजनिक बिदा दिने गरेका छन। पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगायत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ। भस्सी जात्रा भस्सो अथवा भुवा पर्व पश्चिम नेपालको बाजुरा, बझाङ, दार्चुला लगायत भारतको उत्तराखंड लगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक पर्व ‘भुवा’ हरेक वर्ष पुस औसी अवसरमा मनाइने गरिन्छ ।