बाजुरा– नेपाल रेडक्रस साेसाइटी शाखा बाजुराले खप्तड छेडेदह गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ । बिहीबार रेडक्रसले पालिकामै पुगेर एक कार्यक्रमका बिच सुरक्षित नेपाल परियोजना मार्फत विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिकाका हरेक समुदायको विपद् प्रतिकार्य क्षमता बढाउन तथा खाेज तथा उद्वार कार्यमा सहयोग हाेस् भन्ने उदेश्यले २६ किसिमका सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस साेसाइटी बाजुराले जानकारी दिएको छ । नेपाल रेडक्रस साेसाइटी शाखा बाजुराले हाप जकेट, सेप्टी हेलमेट, रेनकाेट मास्क बुटजुत्ता पन्जा टर्चलाइट सिट्टी ट्रेकीग झाेला हेण्ड माइक हताैडा तार कटर लगायतका साम्रगीहरु हस्तान्तरण गरेकाे जनाएकाे छ ।
रेडक्रसका विपद् जाेखिम न्युनिकरण सहायक नेत्र बहादुर कठायतले रेडक्रस साेसाइटी बाजुराले जिल्लाका २ पालिकामा २०२४ जनवरी देखि २०२५ डिसेम्बरसम्म सुरक्षित नेपाल परियोजनामार्फत विपद् जाेखिम न्यूनिकरण सम्बन्धि कार्य गरिरहेकाे बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्बाबाट अति प्रभावित बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका छनाैट गरेपछि नेपाल रेडक्रस साेसाइटी शाखा बाजुराले विपद् प्रतिकार्यका कामहरु गरिरहेकाे बताए।
त्यस्तै नेपाल रेडक्रस साेसाइटी बाजुराका सभापति मेखराज जाेशीले सुरक्षित नेपाल परियोजना कार्यक्रम ल्याउन पालिकाका जनप्रतिनिधिहरुकाे महत्त्वपूर्ण भूमिका रहेको भन्दै पालिका विपद्बाबाट अति प्रभावित देखिएकाले रेडक्रसबाट विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको बताएका छन् । उनका अनुसार साे परियोजना लागू भएका दुईवटा पालिकाका ५ वडामा मात्रै नभई अन्य वडा तथा समुदायमा पनि विपद् प्रतिकार्यका क्रियाकलापलाई जाेड्न पालिकालाई सामग्री हस्तान्तरण गरिएको छ ।
विपद् प्रतिकार्य सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै गाउँपालिका उपाध्यक्ष बिशु नाथले रेडक्रसले निस्वार्थ भावनाले विपद् प्रतिकार्य सामग्री पालिकामै पुगेर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेकी छन् ।
त्यसै गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले रेडक्रस बाजुराले विपद्बाट गाउँपालिकाका बढी प्रभावित भएको भनेर छनाेट गरेर परियोजना लागू गरेकाे भन्दै समुदायका लागि ठुलो राहत भएको बताएका छन् । रेडक्रसले पालिकामा सञ्चालन गरेका गतिविधि र हस्तान्तरण गरेका विपद् प्रतिकार्य सामग्रीले विपद्जन्य घटना प्रतिकार्य तथा समुदायमा पिडितहरुलाई राहत भएको महशुस पनि हुने अध्यक्ष रावतले बताए ।
नेपाल रेडक्रस साेसाइटी बाजुराका सभापति मेखराज जाेशीकाे अध्यक्षतामा सञ्चालन भएको विपद् प्रतिकार्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विशु नाथ, अतिथिमा ७ वटै वडाका अध्यक्ष, गाउँपालिका कर्मचारी, रेडक्रसका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।