• होमपेज
  • समाचार
  • रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे

रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे

  • मङ्लबार, पुस २, २०८१
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । सोमवार राति बुद्ध एयरले काठमाडौँ—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान सुरु गरेको हो ।

परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू समेत राजविराज पुगेका थिए । रात्रिकालीन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान सुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने उनको भनाइ थियो ।

कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरू आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने बताए । उनले आन्तरिक विमानस्थलहरूमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रबन्ध गर्न लागिरहेको बताए ।

कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्त्व अझ बढ्ने बताए । उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताए । रात्रिकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राजविराजमा रात्रिकालीन उडान सुरु हुनु सप्तरीवासीको लागि गौरवको क्षण भएको बताए । रात्रिकालीन उडानलाई सफल बनाउन सबैले सङ्घर्ष गर्नुपर्ने बताए ।

अध्यक्ष राउतले राजविराज विमानस्थलबाट थप उडान गर्नका लागि सप्तरीवासीले अझ बढी पहल गर्न आवश्यक रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार