• होमपेज
  • अन्तर्राष्ट्रिय
  • महिला हिंसाका अनेक किस्सा

महिला हिंसाका अनेक किस्सा

  • सोमवार, मंसिर २४, २०८१
महिला हिंसाका अनेक किस्सा

नेपालको सन्दर्भमा भन्ने हो भने महिला माथी विभिन्न हिंसात्मक गतिविधिहरु विभिन्न माध्यम बाट भइरहेका छ्न।महिला भएकै कारण भोग्नुपरेका विभेद, अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसा त यस्ता छन् जुन पीडितले आफूमाथि हिंसा भइरहेको छ भन्नेसमेत भेउ पाएका हुँदैनन् । तसर्थ विभिन्न रूपमा महिलामाथि हिंसा भएको देख्न सकिन्छ । नेपालमा पनि महिला हिंसाका घटना प्रशस्तै हुने गरेका छन् । यसको मुख्य कारण सामाजिक, सांस्कृतिक संरचना र कानुनी दुवै रहेको देख्न सकिन्छ ।

बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी प्रथालगायतका घटना सर्वत्र भइरहेका र बारम्बार दोहोरिने घटना हुन् । यसबाहेक पनि महिला हिंसाका अनेक किस्सा रहेका हुन्छन् जसको चर्चा कमै मात्र भएको देखिन्छ । अझ दुःखदायी कुरा त के छ भने महिलाहरू आफ्नै घरपरिवारबाट सबैभन्दा बढी हिंसाको सिकार बनेका छन् । यस्ता घटना अज्ञानताका कारण बारम्बार दोहोरिने गरेको पाइन्छ । जसमध्ये बलात्कार पनि ज्वलन्त समस्या र जघन्य अपराधका रूपमा देखा परेको छ ।

कतिपय महिला आफ्नै श्रीमानबाट बलात्कृत भइरहेका छन् । तर, ती अधिकांश घटना गुपचुपमै रहन्छन् । त्यसैगरी, तराई मधेसमा दाइजोको कारण पनि थुप्रै महिलाले शारीरिक, मानसिक यातना मात्र बेहोर्नुपरेको छैन कतिपयले त मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्था छ । त्यसैगरी ग्रामीण भेगमा बोक्सीको आरोपमा पनि महिलामाथि दुव्र्यवहार हुने गरेको छ ।

कथित तल्लो जात तथा एकल महिलालाई बोक्सीको आरोप लगाएर अनेक यातना दिई मलमूत्र खुवाउनेसम्मका अति निकृष्ट क्रियाकलाप पनि हाम्रै समाजमा भइरहेका छन् । छोरा र छोरी जन्मिने प्रक्रिया र त्यसको निर्धारण पुरुष क्रोमोजोममा भर पर्ने भए पनि छोरा नजन्माएको भनेर महिलालाई नै अपमानित गर्ने गरिएको छ । यस्ता अनुचित सोच, परम्परा तथा प्रथालाई तोडेर हाम्रो समाज अगाडि बढ्नुपर्नेमा अपेक्षित प्रगति हुन सकिरहेको छैन ।

अशिक्षित वर्गका त कुरा छाडौं समाजमा शिक्षित भनेर कहलिएकाहरू पनि महिला हिंसाका मतियार बनेका छन् । कुनै न कुनै किसिमले श्रीमतीभन्दा श्रीमान् श्रेष्ठ भन्ने दिमागका भित्तामा टाँसिएर बसेको हुँदा महिलाहरू पीडित बन्नुपरेको छ । पुरुषहरूमा शोषक मनोवृत्तिको ‘सांस्कृतिक विरासत’ पनि छ । घर परिवार मात्र होइन सार्वजनिक स्थल तथा कार्यालयमा समेत महिलाहरू असुरक्षित छन् । महिलाहरू कार्यलयमासमेत आफू सुरक्षित नभएको महसुस गर्छन् ।

पुरुषप्रधान संस्कारको अवशेष बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरू पनि अनजानमा महिलामाथि हिंसा थोपरिरहेका छन् । चेतनशील महिला पनि कुनै न कुनै तरिकाबाट विभेदको सिकार हुनुपरेको छ । थुप्रै कानुनी व्यवस्था र चेतनाको विस्तारले पनि विभिन्न स्वरूपमा महिला हिंसा भइरहनु निकै गम्भीर सवाल हो । महिला हिंसा न्यूनीकरण र निर्मूल पार्ने उद्देश्यले विभिन्न संघसंस्था र अधिकारकर्मी पनि सक्रिय छन् । थुप्रै बजेट खर्च गरेर विभिन्न समारोह तथा गोष्ठी पनि हुने गर्छन् । तर, पनि तिनै अधिकारकर्मी पनि कोही आफैं पीडक र कोही पीडित भइरहेको देख्न सकिन्छ । यस्ता गोष्ठी तारे होटलमा मात्र सीमित भएर महिला हिंसा रोकिँदैन । समाजका बस्तीबस्तीमा गएर जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता देखिन्छ ।

पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको छ

अहिले बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूले विकृत रूप लिइरहेको देखिन्छ । घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात सबैतिर महिलाले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको छ । पीडित महिलाका उजुरीका आधारमा यस्ता घटना बाहिर आउने गर्छन् । जसमा कतिपय अपराधी फेला नै पर्दैनन् र पक्राउ परेकाले पनि फितलो कानुनका कारण छिट्टै उन्मुक्ति पाउँछन् । यसले गर्दा पनि अपराधीको मनोबल बढेको देखिन्छ र यस्ता घटना बारम्बार दोहोरिने गर्छन् ।

महिला हिंसा रोक्न राज्य र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि चेतना वृद्धि गर्ने, महिलाहरू आफ्ना अधिकारका विषयमा जागरुक बन्नुपर्ने, अन्यायको प्रतिवाद गर्ने, कडा कानुनी प्रबन्ध र त्यसको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । कानुन संशोधन गरेर भए पनि बलात्कारी तथा अपराधीलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउनुपर्छ । कठोर सजाय पनि हिंसा नियन्त्रणको एउटा उपाय हो जसले अपराधीको मनोबललाई निरुत्साहित पार्छ ।

कतिपय यस्ता घटना छिपिएका र दबिएका पनि छन् । वास्तविक दोषीलाई पक्राउ गर्न पनि कठिन भएको छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन् । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन् । तर, परिणाम के हुन्छ भने दोषी पक्राउ परे पनि विभिन्न दबाब र प्रभावले उन्मुक्ति पाउँछ । शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता अझै बढेर जानुपर्छ । कानुनको कार्यान्वयन पक्षमा अझ जोड दिनुपर्छ । जनचेतनाको अभाव र आपराधिक मनोवृत्तिका कारण यस्ता घटना बारम्बार दोहोरिरहेका हुन्छन् । अब यस्ता घटना घट्न नदिने र कथं कदाचित् भइहालेमा दोषीलाई कठोर सजाय दिलाएर अरूलाई पनि निरुत्साहित पार्नुपर्छ । अपराधीको मनोबल बढ्ने कुनै किसिमका क्रियाकलाप गर्नुहुँदैन ।

नैतिक शिक्षाका माध्यमबाट पनि चरित्रवान् नागरिक तयार हुन सक्छन् । त्यसैले हाम्रो शिक्षा प्रणालीमा पनि यस्ता विषयतर्फ फेरि मनन् गर्नुपर्ने बेला आएको छ । असल र सभ्य नागरिकले नै समाजलाई अघि बढाउँछ । समाजमा लुकेका र लुकाइएका हिंसाजन्य घटना प्रशस्त मात्रामा सुनिन्छन् । राज्य संयन्त्र पनि यस्ता घटनाप्रति धेरै जिम्मेवारी बन्नुपर्छ । सञ्चारमाध्यम पनि यस्ता विषयमा अझ बढी चनाखो र जिम्मेवार बन्नुपर्छ । सञ्चारमाध्यम भनेका समाजका ऐना हुन् । तसर्थ समाजमा अन्याय अत्याचारमा परेका वास्तविक तस्बिरलाई प्राथमिकताका साथ उतार्नुपर्छ ।

महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूल कानुन निर्माण गर्नुपर्छ

सर्वत्र मानव सभ्यतालाई कलंकित र स्तब्ध पार्ने यस्ता घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । एउटा महिलाको असल भूमिकाले राष्ट्र, समाज र घर सभ्य र सुसंस्कृत हुन्छ । महिला अधिकारसम्बन्धी कानुन बनाइएको छ तर व्यवहारमा केही लागू भएको देखिँदैन । संविधानमा मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्रै कानुनी व्यवस्था गर्ने उल्लेख छ तर संविधान जारी भएको पाँच वर्षसम्म पनि कतिपय कानुन बन्न नसक्नु विडम्बना हो । महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूलको कानुन निर्माण गर्नुपर्छ । महिला भएका कारण विभेद र असमानता भोग्नु नपर्ने कुरा संविधानमा लेखिएको छ ।

मौलिक हकअन्तर्गत ‘महिलाको हक’ले महिलामाथि कुनै पनि प्रकारको हिंसाजन्य कार्य वा शोषण र लैंगिक भेदभाव नहुने, समान वंशीय र सम्पत्तिमा हक हुनेलगायत व्यवस्था गरेको छ तर तदनुकूलको कानुन आजसम्म बनेको छैन । ‘महिलालाई राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने’ व्यवस्था संविधानमा छ । राष्ट्रपति नै महिला भएको मुलुकमा बलात्कार, बलात्कारपछि हत्या, शारीरिक तथा मानसिक हिंसा घटनाहरूमा कमी नआउनु पनि दुखद् कुरा हो । बलात्कार, बलात्कारपछि हत्या, बोक्सीको आरोप, दाइजोका नाममा कुटपिट, एसिड आक्रमणले घाइतेलगायत महिला हिंसाका दर्जनौं घटना दैनिकजसो बढिरहेका छन् ।

नारी वर्गमाथि भेदभाव, शोषण र अन्याय–अत्याचार छ । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन भेदभाव पूर्ण रूपमै निर्मूल हुनुपर्छ । राज्यका हरेक निकायमा महिलाको संख्या बढेको छ । संघीयदेखि प्रदेश र स्थानीय तहसम्म महिलाको उपस्थिति तीव्र छ तर हिंसाका घटना किन बढिरहेका छन् ? प्रविधिको यति ठूलो विकास हुँदा पनि समस्या समाधानमा क्रियाशील नहुने हो भने महिलामाथिको विभेद कहिल्यै अन्त्य हुन सक्दैन ।

साइबर कानुन प्रभावकारी नबनाउने हो भने हिंसाका घटना झन् बढ्नेछन् । महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार व्यावहारिक रूपमै पाउनुपर्छ । महिला हिंसा हुन नदिन गाउँगाउँमा जनचेतना फैलाउन आवश्यक छ ।

चर्चामा

सम्बन्धित समाचार