झापा— नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ अर्बभन्दा बढीको लागतमा नवनिर्मित दमक भ्यूटावर (बिजनेस कम्प्लेक्स)को उद्घाटन गरेका छन्।
ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ साल असार २६ गते ठेक्का लागेको दमक भ्यूटावरको आइतबार एक भव्य समारोहका बीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले दमक नगरपालिका ३ मा डेढ अर्बभन्दा बढी लागतमा सय मिटर अग्लो भ्यूटावरको उद्घाटन गरेसँगै आजदेखि सञ्चालनमा आएको छ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कट्ठा क्षेत्रफलमा बनेको छ। यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँ तल्लासहित १८ वटा तला रहेका छन्। यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ।
२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले लिएका थिए। ‘यो भ्यूटावर नभई आन्तरिक र बाह्य पर्यटकीय भित्राउने झापासहित कोशी प्रदेशकै एउटा ठूलो बिजनेस कम्प्लेक्स हो,’ सचिव सिग्देलले भने, ‘यस कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको छ।’
कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाइ छ।