बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • माटो: स्थायित्वको आधार र जलवायु परिवर्तनको प्रभाव

माटो: स्थायित्वको आधार र जलवायु परिवर्तनको प्रभाव

  • बुधबार, मंसिर १९, २०८१
माटो: स्थायित्वको आधार र जलवायु परिवर्तनको प्रभाव

माटो कुनै निर्जीव वस्तु मात्र नभई एक जिवन्त संरचना हो, जसले स्थलीय पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न र जैविक विविधता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले खेतीपातीका लागि उर्वर आधार प्रदान गर्नुका साथै पानी सञ्चय र पोषक तत्व चक्रलाई सन्तुलनमा राख्छ। तर, जलवायु परिवर्तनका कारण माटोको स्वास्थ्यमा गम्भीर चुनौतीहरू देखापरेका छन्, जसले कृषि उत्पादन, पारिस्थितिक सन्तुलन, र मानिसको जीवनमा गहिरो असर पारेको छ।
माटोमा जलवायु परिवर्तनका प्रभावहरू
जलवायु परिवर्तनको बहस प्रायः बाली उत्पादन, वर्षा चक्रमा आएको परिवर्तन, र तापक्रम वृद्धिमा केन्द्रित हुने गरेको छ। तर माटोको स्वास्थ्य, संरचना, र यसमा रहेका जैविक सूक्ष्मजीवहरूको स्थितिमा परेको असर प्रायः नजरअन्दाज गरिन्छ।
• माटोमा २५% विश्वको जैविक विविधता पाइन्छ: माटोमा जीवाणु, फङ्गस, किराहरू, र अन्य सूक्ष्मजीवहरू बस्छन्, जसले पृथ्वीको जैविक चक्रलाई सन्तुलनमा राख्छ। तर, जलवायु परिवर्तनका कारण यी जैविक संरचनामा गिरावट देखिएको छ। १ बेल्चा स्वस्थ माटोमा कम्तिमा ३० वटा आखाले देख्न सकिने गड्यौला लगाएतमा मित्र जीवहरू भेटिनुपर्छ, तर अहिले धेरै स्थानमा यो संख्या ३ सम्म पनि पुगेको छैन।
• माटोले वायुमण्डलीय कार्बनको लगभग ८०% भण्डारण गर्छ। तर, तापक्रमको वृद्धि र माटोको गिरावटले माटोमा भएको कार्बन वातावरणमा निस्कँदा जलवायु परिवर्तन थप तीव्र हुँदै गएको छ।
• एक चम्चा स्वस्थ माटोमा अरबौं सूक्ष्मजीवहरू पाइने भए पनि जलवायु परिवर्तनबाट चिस्यान र तापक्रमको असन्तुलन हुने भएकाले यी जीवहरूको संख्या घट्दै गएको छ। माटोमा रहेका जैविक सूक्ष्मजीवहरूल्र पोषण चक्र र जैविक पदार्थ विघटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछन, तापक्रम र चिस्यान परिवर्तनमा यि जीवहरू निकै संवेदनशील हुन्छन। सुख्खाले सूक्ष्मजीवहरूको गतिविधिमा कमी ल्याउँछ भने अत्यधिक चिस्यानले हानिकारक सूक्ष्मजीवहरूको वृद्धि गराउँछ, जसले हरितगृह ग्यास उत्सर्जनलाई समेत बढाउँछ।
• बढ्दो तापक्रमले माटोको जैविक पदार्थको विघटनलाई तीव्र बनाउँछ, जसले गर्दा माटोको जैविक कार्बन घट्छ। साथै, भारी वर्षाले पोषणको लिचिङ गराउँछ, जसले माटोको उर्वराशक्तीमा निकै गिरावट ल्याउँछ। ग्रामिण किसानहरूले तोरी, जौ र कोदो जस्ता पोषणयुक्त बाली पहिलेको तुलनामा सप्रिन छाडेको बताउछन्, जुन माटोमा हुनु पर्ने पोषणको अभावलाई संकेत गर्छ।
• भारी वर्षा र पानी सोस्न नसक्ने माटोको कारण सतहको माटो खुकुलो भएर बढि हिलो हुने भूक्षय र पहिरोको जोखिम बढेको छ। साथै, माटोको छिद्रहरू बन्द हुँदा तलको माटो सारो हुँदै गएको छ। जसले गर्दा बालीहरू जरा सिधै तल नगएर दायाबाँया फैलिन बाध्य भएको छ। यसले माटोको पोषकमा निकै असर पुराएको हुन्छ।
• माटोको स्वस्थ्य नहुनु र पर्याप्त पोषक तत्वको कमीले उत्पादनमा गिरावट ल्याएको छ। उत्पादित बालीहरू पनि पोषणले भरिपूर्ण नहुने भएकाले मानिसहरूको स्वास्थ्यमा समेत दीर्घकालीन असर पार्ने जोखिम रहेको छ।
माटो जलवायु परिवर्तनसँग गहिरो रूपमा जोडिएको छ। यसको गिरावटले जलवायु परिवर्तनलाई तीव्र बनाउन सक्छ, भने यसको सुधारले जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ। जलवायु परिवर्तनले नेपालका माटो र कृषिमा पुर्‍याएको प्रभाव गम्भीर छ। तर, सामूहिक प्रयास, वैज्ञानिक विधि, र दिगो अभ्यासहरूमार्फत माटोको स्वास्थ्यलाई पुनर्स्थापित गर्दै भविष्यका पुस्ताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ। माटोको संरक्षण जलवायु समाधानको अभिन्न हिस्सा हो। स्वस्थ माटो भनेको केवल उत्पादनको आधार मात्र नभई, दिगो जीवन र पारिस्थितिक सन्तुलनको मूल स्रोत हो। यसको संरक्षण र सुधार हाम्रो प्राथमिक दायित्व हो। माटो दिवसको सबैलाइ शुभकामना।

चर्चामा

सम्बन्धित समाचार