• होमपेज
  • बुढिनन्दा
  • साउनेगाउँको जिउलो चार बर्षदेखि बाँझै

साउनेगाउँको जिउलो चार बर्षदेखि बाँझै

  • शनिबार, मंसिर ८, २०८१
साउनेगाउँको जिउलो चार बर्षदेखि बाँझै

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका १ साउनेगाउँमा रहेको जिउलो ४ बर्षदेखि बाँझै रहेको छ । २०७८ साल कार्तिक महिनामा परेको अविरल बर्षाका कारण आएको बाढीले सिचाई कुलो बगाउँदा जिउलो बाँझिन पुगेको हो । साउनेगाउँको जिउलोमा बर्षाको समयमा खेती भए पनि सिचाई कुलो नहुँदा हिउँदमा बाँझो रहने गरेको छ । १ सय ५० घरधुरीले खेती गर्दै आएको खेतमा स्थानियले हिउँदेबाली लगाउन पाएका छैनन् । “बाली लगाउँछौ पानी नहुँदा उत्पादन हुदैन हामीले खाली दुःख मात्रै गरि रहेका छौँ स्थानिय बिर बहादुर महतराले दुखेसो पोखे ।” बुढीनन्दा नगरपालिका वडा नं १, स्थित साउनेगाँउ सिंचाइ कुलो भत्किदा विगत चार बर्ष देखि जिउलाबाट सिंचाइ नहुँदा किसानले खेतिपाती गर्न सकेका छैनन् । स्थानियले अस्थायी रुपमा भत्किएको ठाँउमा कुलो सम्याउने र पाइप राखेर पहिलो बर्ष खेती लगाए पनि पुनः नदीले कटान गर्दा कुलो भत्किएर सिंचाई हुन नसकेको स्थानिय सेते तिरुवाले बताए । कृषकहरुले जति प्रयास गर्दा पनि पानी ल्याउन नसकेको र लागत बढि लाग्ने भएकोले खेतमा पानी पुर्याउन नसकेको तिरुवाको भनाई रहेको छ । सिंचाई कुलो निर्माणका लागि बुढीनन्दा नगरपालिकालाई अनुरोध गर्दा पनि सुनुवाई नभएको उनिहरु बताउँछन ।

कुण्डा खोलाभरी हरीयाली भइरहँदा मेरो जिउलो पानी नपाएर मंसिर महिनासम्म बाँझो रहेको साउनेगाउँका कृषक धनलाल गिरीले बताए । कुलो बाढिले बगाएपछि उब्जनी नहुँदा परिवार पाल्नकै लागि भारत तिर जानू पर्ने बाध्यता रहेको कृषक गिरीले बताए । सिँचाई नहरको सुबिधा नहुँदा लगाईएका गहुँ बालिहरु सुक्दै जान थालेको गिरीको भनाई रहेको छ । अहिले मसिंर लागिसक्दा अन्य ठाउँमा हरियाली भएपनि यहाँका खेतहरु बाँझै देखीन्छ र आफुलाई बिरक्त लाग्न थालेको कृषक गिरीले बताएका छन् । खेतबाट उब्जाउ नहुने भएपछि पेट पाल्न अरुको भर पर्नुपर्ने अवस्था आएको गिरी बताउँछन । हिउँदको समय सुरु हुने बित्तीकै यँहाका सबै कृषक कालापहाड (भारत) मा काम गरेर कमाएर खाध्यान्नबाट चामल ल्याएर पेट पाल्नुपर्ने बाध्यता रहेको उनिहरुको भनाई रहेको छ ।

साउनेगाँउ सिंचाइ कुलोमा १ सय ५० घरपरिवारको ३ सय २० पाथी जग्गा रहेको अगुवा लक्ष्मण जोशीले बताए । जनताको पहिलो आधारभुत आवश्यकता भनेको गाँस बास र कपासको हो त्यहि गाँस बास र कपासका लागि हारगुहार गर्दा पनि तिन तहको सरकार बेखवर बनेको जोशीको भनाई रहको छ । सिंचाइ नहर नहुँदा हिउँदे बाली लगाउन समस्या भएको छ । सिंचाई कुलोको अभावले सुकेको गहुँबालिमा पानी लगाउन पनि निकै समस्या भएको जाेशीले बताए । नगरपालिका लगायत ३ तहका सरकारसँग हारगुहार गर्दा पनि कसैले नहर बनाउन सहयोग नगरेको त्यँहाका कृषकहरुको भनाई रहेको छ । कोल्टी क्षेत्र उसै पनि खडेरीग्रस्त क्षेत्र हो, लामो समयसम्म पानी नपर्दा किसानहरु झनै समस्या परेका छन ।

यता स्थानिय तहले प्रयास गरेको भए पनि स्थानिय तहको श्रोतले नभ्याउने भएपछि प्रदेश र संघिय सरकारसंग पहल गरेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । प्रदेश सरकारका योजनाहरु कमिशनमा मात्र आउने प्राथमिकतामा योजना नआउने संघिय सरकारले पनि ब्यवास्था गरेका कारण सिचाई कुलो बनाउन नसकिने नगर प्रमुख बोहराले बताए । नगरपालिकाले त्यसको लागत स्टेटमेन्ट गर्दा करिव १ करोड आबस्यक रहकोले नगरपालिकाको बजेटले नसकिने भएका कारण प्रदेश र संघिय सरकारसंग अनुरोध गरेको उनले बताए ।  किसानहरुले एक बाली मात्रै खेती लगाउदै आएका छन । सिंचाई सुविधा नहुँदा एक बाली मात्रै खेती हुने गरेको कृषकहरुले धानबाली भित्र्याएपछि हिउँदे बाली लगाउन छोडिसकेका छन् । वर्षातमा धान रोप्न आकाशे पानीको भर पर्नुपर्छ । राम्रो संग पानी नपरे धान रोप्न पनी मुस्किल हुने गरेको कृषकहरु बताउँछन ।

चर्चामा

सम्बन्धित समाचार