शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अध्यागमन कानुन उल्लंघन गर्ने १२ नेपालीलाई मलेसियाले गर्‍यो निष्कासन

अध्यागमन कानुन उल्लंघन गर्ने १२ नेपालीलाई मलेसियाले गर्‍यो निष्कासन

  • शुक्रबार, कार्तिक ३०, २०८१
अध्यागमन कानुन उल्लंघन गर्ने १२ नेपालीलाई मलेसियाले गर्‍यो निष्कासन

काठमाडौं– मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो।

अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। ‘मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,’ अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने।

निष्कासनमा पर्नेहरूमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव छन्। उनीहरू मालिन्दो एयरलायन्सको जहाजबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए।

त्यस्तै माल्दिभ्स, बेलायत र कतारले पनि एक-एक जना नेपालीलाई निष्कासन गरेका छन्। अध्यागमन कानुन विपरीत यात्रा गरेको पाइएपछि श्रीलंकन एयरलायन्सबाट माल्दिभ्स पुगेका दिल्पाकुमारी सार्की, कतार एयरलायन्सबाट दोहा पुगेका गुडु शेख र थाइ एयरलायन्सको जहाजबाट बेलायत पुगेका सागर गुरुङलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ।

पछिल्लो समय मलेसियाले अवैध तरिकाले प्रवेश गर्नेहरूमाथि कडाइ गरेको छ। वैदेशिक रोजगारका लागि मलेसिया पुग्ने कामदारमाथि पनि उसले निगरानी गर्दै आएको छ।

नेपालीहरूको प्रमुख गन्तव्य मलेसिया बन्दै आए पनि त्यहाँ समस्या पनि विकराल रहेको बताइन्छ। भिसा समस्याका कारण कतिपय नेपालीहरू लुकिछिपी काम गर्नुपर्ने अवस्था आएको नेपालीहरू बताउँछन्। कोरोना महामारीपछि लुकिछिपी बस्दै आएका वैदेशिक कामदारमाथि मलेसिया धरपकड पनि गर्दै आएको छ।

चर्चामा

सम्बन्धित समाचार