• होमपेज
  • खेलकुद
  • १० औं राष्ट्रिय खेलकुद घोषित मितिमा नहुने

१० औं राष्ट्रिय खेलकुद घोषित मितिमा नहुने

  • बिहिबार, कार्तिक २९, २०८१
१० औं राष्ट्रिय खेलकुद घोषित मितिमा नहुने

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ । केही महिनाअघि नै १० औं राष्ट्रिय खेलकुद समयमै नहुने संकेत भएको थियो । अब तोकिएको मितिमा प्रतियोगिता नहुने पक्का भएको हो ।

कर्णाली खेलकुद परिषद्का सदस्य–सचिव विश्वमित्र सञ्ज्यालले १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको बताएका छन् । ‘के कारणले तोकिएको समयमा भएन र अब कहिले हुन्छ भन्ने विषय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को हातमा छ,’ उनले भने, ‘कहिले गर्ने भनेर अहिलेसम्म निर्णय भइसकेको छैन ।’

मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा १० औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । दुई वर्षअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १० औं राष्ट्रिय खेलकुद कर्णालीले गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो । ‘निर्णय कार्यान्वयन नहुनु दुःखद हो,’ उनले भने, ‘तोकिएकै समयमा खेदकुद नभएर केही नभएको देखिए पनि २/४ वर्षपछि यसको असर पक्कै देखिन्छ ।’ आधिकारिक निकायले यो मितिमा नभएपछि अब यो मितिमा हुन्छ भनेर खेलाडी, प्रशिक्षक र आम खेलप्रेमीलाई जानकारी दिन जरुरी भएको सञ्ज्यालले बताए । छिटोभन्दा छिटो १० औं राष्ट्रिय खेलकुदको मितिको टुंगो लगाउनुपर्ने उनको जिकिर छ । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयको धारणा बुझ्न र छिटो मिति टुंगो लगाउन आफू राजधानी काठमाडौं पुगेको सञ्ज्यालले जानकारी गराए ।

बजेट निकासा नभएको र मिति पनि निश्चित नभएकाले खेलाडीहरू पनि बन्द प्रशिक्षणमा छैनन् । प्रदेश सरकारले प्रतियोगिताको मिति टुंगो लाग्दा मात्र थप बजेट दिने भनेपछि खेलाडीहरू विना प्रशिक्षण घरमै छन् । प्रतियोगिताको मिति टुंगो नलागेको र तयारीका लागि बजेट पनि नआएकाले असोज पहिलो साताबाट बन्द प्रशिक्षण रोकिएको हो । यसअघि ८ खेलका लागि खेलाडीहरू बन्द प्रशिक्षणमा थिए ।

यता कर्णाली खेलकुद परिषद्ले भने १० औं राष्ट्रियका लागि आफूहरू तयार भएको दाबी गर्दै यसका लागि प्रदेश रंगशालाको काम लगभग पूरा भएको जनाएको छ । अब रंगशालाको २/३ प्रतिशत काम मात्र बाँकी रहेको सदस्य–सचिव सञ्ज्यालले बताए । उनका अनुसार छाना लगाउने काम मात्र बाँकी रहेकाले १/२ दिनमा पूरा हुनेछ । राष्ट्रिय खेलकुदको मिति तोकियो भने कर्णालीका खेल संरचनाहरू तयार भएको सञ्ज्यालको दाबी छ । उनले भने, ‘प्रतियोगिता हुने नै भयो भने १०/१५ दिनअघि गर्ने सरसफाइ, पानी जोड्नेलगायत सामान्य मर्मतका काम मात्र बाँकी छन् । तर, २४ खेलका लागि अरू सबै तयारी पूरा भएको छ ।’

दसौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगरमा कालिञ्चोक क्रिकेट मैदान तयार भएर प्रयोगमा आइसकेको छ । सञ्ज्यालका अनुसार वीरेन्द्रनगरकै अर्को क्रिकेट रंगशालाको काम पनि पूरा भइसकेको छ । वीरेन्द्रनगरकै चिसापानी र गुरुङचोकमा फुटबल मैदान तयार भइसकेको छ । दैलेखमा पनि कर्भडहल मर्मत गरिसकिएको छ । रुकुम पश्चिममा पनि कर्भडहल मर्मत भइसकेको उनले बताए । हुम्लामा हक्की मैदान तयार पारिएको छ भने जुम्लामा पनि खेलका पूर्वाधार तयार पारिएका छन् । जुम्लामा भलिबल कोर्टमा प्यारापिट निर्माण गरिएको छ भने मुगुको रारामा कबड्डीको खेल मैदान बनाइएको छ । जाजरकोटको कुदुमा फुटबल खेलमैदान तयार पारिएको छ ।

चर्चामा

सम्बन्धित समाचार